चाँगुनारायण नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान शुभारम्भ

पहिलो दिन ६७२ किशोरीलाई लगाइयो

खरीपाटी: चाँगुनारायण नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान शुभारम्भ गरिएको छ । नगर प्रमुख जीवन खत्रीले मंगलबार श्रीकृष्ण माध्यमिक विद्यालय खरिपाटीमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै मेयर खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो ।

नगर प्रमुख खत्रीले अभियानको शुभारम्म गर्नुभएसँगै ९ वटै वडामा एकै साथ खोप अभियान संचालन भइरहेको छ । आजबाट शूरु भएको खोप अभियान फागुन ६ गतेसम्म देशैभर सञ्चालन संचालन हुनेछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप लगाइएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले क्यान्सरका कारण अकाल, अनाहमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको अवस्थामा खोप लगाएर आफ पनि सुरक्षीत हुन र छुटेका अन्यलाई पनि खोप लगाउने कार्यमा सहयोग र समन्वय गर्न आग्रह गर्नुभयो ।

मेयर खत्रीले नगरपालिकाभित्र बसोबास गर्ने कोहि पनि छात्राहरु अभियानमा नछुटून भन्ने मुख्य उद्देश्य रहेकाले सबैले ध्यान दिनु जरुरी रहेको बताउनुभयो । साथै मेयर खत्रीले खोप अभियानमा सहभागि हुन लक्षीत वर्गका सबै किशोरीहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाभरि २ हजार ९४४ जना किशोरीलाई खोप लगाईने र शत प्रतिशत लक्ष्य पूरा हुने बताउनुभयो । विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका २ हजार ४०५ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ५३९ जना किशोरीलाई खोप लगाइनेछ ।

स्वास्थ्य शाखा प्रमुख दिल कुमार सुवालले नगरका ४८ वटा विद्यालय र विद्यालय बाहिर १९ वटा खोप केन्द्र तोकि खोप कार्यक्रम संचालन गरिएको छ भने खोप केन्द्रमा ६८ जना नै स्वास्थ्यकर्मी र १ सय ३६ जना स्वयंसेवक परिचालन गरिएको छ ।

त्यस्तै, पहिलो दिन चाँगुनारायण नगरपालिकामा ६७२ जना किशोरीलाई खोप लगाइएको पनि शाखा प्रमुख सुवालले जानकारी गराउनुभयो ।