
खरीपाटी: चाँगुनारायण नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एच.पि.भी खोप अभियानलाई सफल बनाउन ब्यापक तयारी गरेको छ । एच.पि.भी. खोप अभियान माघ २२ गते देखि फागुन ६ गतेसम्म देशैभर सञ्चालन संचालन हुँदैछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप दिईंदैछ ।

नगर प्रमुख जीवन खत्रीले क्यान्सर रोग दिन प्रतिदिन बढिरहेको वर्तमान अवस्थामा सरकारले ल्याएको यो खोप अयिभानले नयाँ पुस्तालाई सुरक्षित गर्ने भएकाले कोही पनि नछुट्ने गरि अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो । मेयर खत्रीले सबै मिलेर कोही पनि नछुट्ने र बञ्चित नहुने गरी अनिवार्य रुपमा खोप लगाउने ब्यवस्था गर्ने गरि अगाडि बढिएको बताउनुभयो ।
राष्ट्रिय खोप अभियानलाई सफल बनाउनु प्रत्येक नागरिकको कर्तब्य र जिम्मेवारी पनि भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोग गरि खोप अभियान सफल बनाउनुपर्ने मेयर खत्रीको जोड छ ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले खोप अभियानलाई सफल बनाउन नगरस्तरीय तथा ९ वटै वडामा अभिमूखीकरण कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । हुमेगाइँले अभियानलाई सफल बनाउने तयारी अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख दिल कुमार सुवालले ९ वटै वडामा खोप समितिको बैठक राखी वडास्तरीय सचेतना तथा खोप सम्बन्धी जानकारी गराउने कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभरि २ हजार ९४४ जना किशोरीलाई खोप लगाइनेछ । विद्यालयमा अध्ययनरत ६ देखि १० कक्षासम्मका २ हजार ४०५ जना किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका ५३९ जना किशोरीलाई खोप लगाइने तयारी छ ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बलराम तिमसिनाका अनुसार नगरका ४८ वटा विद्यालय र विद्यालय बाहिर १९ वटा खोप केन्द्र तोकिएको छ भने खोप केन्द्रमा ६८ जना नै स्वास्थ्यकर्मी र १ सय ३६ जना स्वयंसेवक परिचालन गरिएको छ ।
के हो एचपीभी खोप ?
पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरू बताउँछन् ।
महिनावारी भएका बेला एच.पि.भी. खोप लगाउन हुन्छ कि हुँदैन ?
महिनावारी भएका बेला एच.पि.भी. खोप लगाउन हुन्छ । त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेला महिनावारी भएको छ भने पनि खोप लगाउनुहोला ।
एच.पि.भी. खोपले किशोरीहरूको महिनावारीलाई कुनै असर गर्छ कि गर्दैन ?
एच.पि.भी. खोपले किशोरीहरूको महिनावारीलाई कुनै असर गर्दैन । किशोरीहरूमा महिनावारी हुने नियमित प्राँकृतिक प्रक्रिया हो । त्यसैले एच.पि.भी. खोप लगाउँदैमा किशोरीको महिनावारी छिटो सुरु हुने वा ढिलो सुरु हुने हुदैन ।