नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी ब्यापक, शुक्रबार मूल समारोह समितिको बैठक बस्ने, सहभागिताका लागि मेयर खत्रीको आग्रह

खरीपाटी : चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी ब्यापक बनाउँदै लगेको छ । भ्रमण वर्ष नजिकिंदै गर्दा नगरपालिकाले तयारी ब्यापक बनाउँदै लगेको हो । नगरपालिकाले भ्रमण वर्षको तयारी स्वस्प पर्यटकीय पूर्वाधार निर्माण देखि सडक महोत्सव, धिमे बाजा प्रतियोगिताको आयोजना जस्ता विभिन्न कार्यहरु गरिरसकेको छ ।

नगरकोट भ्रमण वर्षका लागि चुनौती बनेको नगरकोट-कमलविनायक सडकको ठेक्का रद्ध भएसँगै नगरपालिकाको १६ औं नगर सभाबाट आफैले बनाउने गरि आवश्यक बजेटको सुनीश्चितता पनि गरिसकेको छ । नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप नै सार्वजनीक शौचालय निर्माण, प्रतिक्षालय निर्माण, होलिङ बोर्ड राख्ने जस्ता कार्य जारी राखिएको छ ।

नगरकोट भ्रमण वर्षको तयारीलाई तीब्र बनाएको नगरपालिकाले शुक्रबार मूल समारोह समितिको बैठक आह्वान गरेको छ । नगर प्रमुख जीवन खत्रीको संयोजकत्वमा रहने मूल आयोजक समितिको बैठक शुक्रबार दिउँसो १ बजे नगरपालिकाको सभाहलमा डाकिएको हो ।

नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन कार्याविधि समेत तयार गरिसकेको छ । सोही कार्याविधी अनुसार मूल समारोह समितिको बैठक बोलाइएको हो । बैठकमा सहभागिताका लागि सबैमा आग्रह गरिएको छ ।

समितिमा अध्यक्ष नगर प्रमुख, सदस्यको रुपमा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, नगरसभाका सम्पूर्ण सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, रेडक्रस, सुरक्षा निकायका प्रमुखहरु, नगरकोट नाल्दुम क्षेत्र विकास समितिका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, नगरभित्रका होम स्टे ब्यवसायीको प्रतिनिधि, होटल ब्यवसायीको तर्फबाट प्रतिनिधि, सहकारी संस्था, टोल विकास समिति, नगरपालिका भित्रका गैर सरकारी संस्था सामुदायिक वन र विद्यालबाट एक एक जना प्रतिनिधिहरु, जिल्ला स्थित घरेलु कार्यालयका प्रतिनिधि, पुरातत्व हेर्ने कार्यालयका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि रहने कार्याविधिमा उल्लेख छ ।

समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत र सल्लाहकारका रुपमा जिल्लाका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र उद्योग वाणिज्य माहासंघका प्रमुख रहनुभएको छ ।