चाँगुनारायण नगरसभाको १६ औं अधिवेशन सम्पन्न, अर्धवार्षिक समिक्षा प्रतिवेदन, विभिन्न विधेयक र सार्वजनीक महत्वका प्रस्तावहरु सर्वसम्मत पारित

खरीपाटी । चाँगुनारायण नगरपालिकाको १६औं नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहल खरिपाटीमा शुक्रबार सम्पन्न नगर अधिवेशन भब्य रुपमा सम्पन्न भएको हो । अधिवेशनले अर्धवार्षिक समिक्षा प्रतिवेदन, विभिन्न विधेयकहरु र सार्वजनीक महत्वका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगर प्रमुख जीवन खत्रीको सभापतीत्वमा सम्पन्न नगर सभामा नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले अर्धवार्षिक समिक्षा प्रतिवेदन र विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नु भएको थियो ।

त्यस्तै, सभामा विभिन्न विषयगत समितिको तर्फबाट विधेयक समितिका संयोजक जयन्द्र खडकाले जग्गा विकास (प्लानिङं) तथा हाउजिङ निर्माण सम्बन्धी विधेयक र सामाजिक विकास समितिका संयोजक जनक खत्रीले खानेपानी ब्यवस्थापन बोर्ड ऐन २०७७ को संशोधन विधेयक पेश गर्नु भएको थियो । न्यायिक समितिका सदस्य सुरेश कार्कीले मेलमिलापकर्ताहरुको सुची अनुमोदनको लागि सभासमक्ष पेश गर्नु भएको थियो ।

नगरसभामा प्रस्तुत विभिन्न प्रस्ताव र विधेयकमाथि दफावार छलफलपश्चात नगर प्रमुख खत्रीले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो भने बैठकले नगरसभामा प्रस्तुत प्रस्ताव र विधेयकहरु सर्वसम्मत रुपमा पारित गरेको थियो ।

बैठकले विभिन्न सार्वजनीक महत्वका विषयमा पनि छलफल गरि महत्वपूर्ण निर्णय गरेको छ । सभाले केहि दिन अघि मात्र ठेक्का रद्ध भएको नगरकोट-कमलविनायक सडकसहित वडा कार्यालय जोड्ने सडक स्तरोन्नतिका लागि विभिन्न १५ वटा योजनाहरुको बजेट सुनिश्चीत गरि बुहवार्षिय ठेक्कामार्फत निर्माण गर्ने निर्णय गरेको छ ।

नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, कानूनी सल्लाकारहरु अधिवक्ता कृष्ण मुरारी खनाल, अधिवक्ता किरण न्यौपाने, ९ वटै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो ।