ताथली: बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको ताथली धिमे खलः प्रथम हुन सफल भएको छ । चाँगुनारायण नगरपालिकको आयोजनामा ताथलीमा भएको प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती पस्कँदै ताथली धिमे खलः प्रथम हुन सफल भएको हो ।
नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षीत गरि आयोजना गरेको ऐतिहासिक प्रथम धिमे बाजा प्रतियोगितामा विजेता ताथलीले नगद रू ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या पुरस्कार प्राप्त गर्नुभयो । विजेता टोलीलाई संघीय सांसद दुर्लभ थापा र नगर प्रमुख जीवन खत्रीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभयो ।
यस्तै प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ ताथलीको फैकावु गणेश साँस्कृतिक समूह दोस्रो हुन सफल भएको छ । फैकावुले नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा नियो फ्यूजन बाजा समूह भक्तपुर तेस्रो हुन सफल भएको छ । तेस्रो हुने नियो फ्यूजनले नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्राप्त गरे ।
काभ्रे बनेपाको देउला बासुरी बाजा धिमे खलःले प्रतियोगितामा उत्कृष्ट चौंथो स्थान हासिल गरी सान्त्वना पुरस्कार जित्न सफल भएको छ । सान्त्वना पुरस्कार जित्न सफल देउला बासुरी बाजा धिमे खलःले नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट पाँचौंका साथै निर्णायकको उत्कृष्ट छनोटमा वाङ्ख्यो दाफा भजन खलः काभ्रे बनेपा पर्न सफल भएको छ । उत्कृष्ट प्रस्तुति निर्णायक छनोटलाई धिमे बाजा १ थानले पुरस्कृत गरियो ।
प्रतियोगितामा उत्कृष्ट छैंटौं देखी १० औ स्थानमा क्रमशः लायकु धिमे खलः पनौती, सिवा सायमी खलः मध्यपुर थिमि, तलेजु बाजा खलः लुभु, बालकुमारी धिमे खलः काठमाण्डौं, सौडोल साँस्कृतिक बाजा खलः ताथली सौडोल पर्न सफल भएको छ । उत्कृष्ट छैंटौं देखी १० औं स्थानसम्म पर्न सफल टोलीले एक एक थान भुस्या पुरस्कार स्वरुप प्राप्त गरे ।
प्रतियोगितामा विजेता र उत्कृष्ट हुन सफल टोलीलाई पुरस्कृत गर्दै भक्तपुर क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले धिमे बाजा प्रतियोगिताले आउँदो नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताले नगरको साँस्कृतिक बाजागाजा र कला सँस्कृति जगेर्ना गर्न पनि मद्दत पुगेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा विश्व सम्पदा सुचीकृत चाँगुनारायण मन्दिर र रमणीय पर्यटकीय स्थल नगरकोट रहेकोले चाँगुनारायणमा पर्यटनको विकासका लागि नगरकोट भ्रमण वर्ष २०८२ मनाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले धिमे बाजा प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न साथ सहयोग भएर भब्य रुपमा सम्पन्न् भएसँगै नगरकोट भ्रमण वर्ष सफल बनाउन पनि सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
पुरस्कार वितरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले धिमे बाजा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा २ का वडाध्यक्ष सोम प्रधान, ५ का वडाध्यक्ष जयन्द्र खडका, वडा नंं ९ का वडाध्यक्ष गणेश त्यातलयायत कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु पनि सहभागि हुनुहुन्थ्यो ।
यसअघि प्रतियोगिताको उद्घाटन संघीय सांसद प्रेम सुवालले गर्नुभएको थियो । सो अवसरमा सांसद सुवालले स्थानीय सरकारको प्रभावकारी कामले सिंहदरबारले सिक्न सक्ने अबस्था बनाउनु पर्ने भन्दै परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरि नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका संयोजक ईश्वर थापा, प्रदेश सांसदहरु, नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, १ देखि ९ वटै वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरुलगायत विभिन्न संघसंस्थाका जनप्रतिनिधिहरु समेत सहभागि हुनुहुन्थ्यो ।
कार्यक्रममा स्थानीय घरेलु उत्पादनको प्रर्दशन समेत गरिएको थियो । कार्यक्रम स्थलमा राखिएको २० वटा स्टलमा नेवारी परिकार, खाद्य परिकार, हाते बुनाई, हस्त कलाका सामग्री, माटोको मर्तिकलालगायतका बिभिन्न सामग्रीहरु प्रर्दशन एवं बिक्री समेत गरिएको थियो ।