सामुदायीक विद्यालयलाई सबैको रोजाई र भरोसाको केन्द्र बनाउन आवश्यक : मेयर जीवन खत्री

झौखेल: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सामुदायीक विद्यालयलाई सबैको रोजाई र भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउनु भएको छ । वडा नंं ३ स्थित बाल भूषण आधारभुत विद्यालयको ६४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्र्नुहुँदै नगर प्रमुख खत्रीले स्थानीयले अपनत्व गर्ने गरि सामुदायिक विद्यालयप्रति विश्वास र भरोसा दिलाउन आवश्यक रहेको बताउनुभयो ।

स्थानीय अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठाए नगरपालिकाले स्रोत र साधनमा कुनै कमी हुन नदिने पनि मेयर खत्रीले बताउनुभयो । श्रीकृष्ण माध्यमीक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुँदा आफ्नै बालबच्चा पठाउन शूरु गरेर सामुदायिक विद्यालयलाई सबैको रोजाईको केन्द्र बनाउन लाग्दै आएको बताउनुभयो । मेयर खत्रीले सामुदायिक विद्यालयप्रति हेर्ने नजर र दृष्टिकोणमा परिवर्तन ल्याउन भने आवश्यक रहेको बताउनुभयो ।

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शैक्षीक स्तर माथि उकास्न नगरपालिकाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत ठूलो धनराशी खर्च गर्ने गरिएको बताउनुहुँदै मेयर खत्रीले पछिल्लो समय प्रोत्साहनमूलक कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्दै गएको बताउनुभयो ।

नगरपालिकाका सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने कार्य भइरहेको छ । साथै सामुदायिक विद्यालयमा नियमीत रुपमा सुधारात्मक र उपचारात्मक दुबै किसिमको सुपरीवेक्षण र निरीक्षण गर्ने कार्य पनि गर्ने गरिएको छ ।

चाँगुनारायण नगरपालिकामा हाल ३४ सामुदायिक विद्यालय, ४१ संस्थागत विद्यालय रहेका छन् । सामुदायिकतर्फ करिब ७ हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने संस्थागत विद्यालयमा ७ हजार ५ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।

नगरपालिकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि गर्दै लगेको छ । अर्कोतिर बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउनका लागि नेपाल सरकारले दिदैं आएको दिवा खाजावापत १५ रुपैयाँमा थप गरि ३० रुपैयाँ बनाएको छ ।