नगरकोट: पर्यटकीय नगरी नगरकोटमा आज बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय भक्तपुर, भक्तपुर अस्पताल, आयुर्बेदिक तथा बैकल्पिक चिकित्सालयको संयुक्त आयोजना र चाँगुनारायण नगरपालिकासँगको सहकार्य एवं नेपाल रेडक्रस सोसाईटी भक्तपुर र मण्डन देउपुर नगरपालिकासँगको समन्वयमा बृहत्त एकीकृत जनस्वास्थ्य तथा सामान्य शाल्यक्रिया सहितको स्वास्थ्य शिविर आयोजना भएको हो ।
२ सय जनाको स्वास्थ्य परिक्षण गर्ने गरी आयोजित सो शिविरमा ५ सय ३० जना लाभान्वित भएको वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामाले जानकारी दिनुभयो ।
शिवीरमा विशेषज्ञ सेवा सहित जनरल स्वास्थ्य परिक्षण तथा उपचार सेवा, सामान्य सल्यक्रिया सेवा, भिडियो एक्स रे सेवा, इ।सि।जी। सेवा, आङग खस्ने समस्या र यौन रोग सम्बन्धि स्क्रिनिङ्ग तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर, नसर्ने रोगको स्क्रिनिङ्ग (मधुमेह, उच्च रक्तचाप, पिसावमा प्रोटिनको जाँच तथा प्रेषण सेवा), आँखा जाँच, चस्मा जाँच तथा उपचार सेवा, नाक, कान घाँटी जाँच तथा उपचार सेवा र आयुर्वेद चिकित्सकीय जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
शिविरको प्रदेश सांसद सुरेश श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा सांसद श्रेष्ठले चाँगुनारायण नगरपालिका स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास भइरहेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोाकीले लाहान्चा फल्चा देखि नगरकोट सडक निधारित समयमै नबन्दा जनतालाई समस्या भएको भन्दै चाँगु क्षेत्रमा विभिन्न अस्पतालहरुलाई जग्गा प्रदान गर्दै स्वास्थ्य सेवा विकासमा टेवा पुर्याउँदै आएको बताउनु भयो ।
वडा नंं ६ का वडाध्यक्ष धनबहादुर लामाले शिविरले दिएको सेवा अस्पतालले दिएको जस्तै बृहत भएको बताउनु भयो । जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामी र स्वास्थ्य कार्यालय चाँगुनारायण शाखा प्रमुख दिलकुमार दुवालले सहजीकरण गर्नु भएको थियो ।
शिविरमा चाँगु नगर अस्पतालका प्रमुख डाक्टर अर्जुन कार्कीले विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरले समुदायमा लुकेर रहेका रोगिहरुको पहिचान गरी थप उपचार गर्न समेत सहज हुने विश्वास व्यक्त गर्नु भयो ।