चाँगुनारायणमा बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिताको तयारी तीब्र, ५० वटा टोलीको सहभागिता रहने अनुमान

खरीपाटी : चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि यही पुष २० गते आयोजना गर्न लागेको बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिताको तयारी तीब्र बनाएको छ । नगरपालिकाको सभाहलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी तीब्र पारिएको जनाइएको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष र समग्र चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले धिमे बाजा प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै, परम्परागत बाजामा युवा आकर्षण तथा पुस्तान्तरण गर्न, नेपाली परम्परा संस्कृति, कला, बाजा तथा भाषाको संरक्षण र संवद्र्धन गर्न, चाँगुनारायणमा आन्तरिक पर्यटकहरु बढाउन, नगर भित्र (वडागत) का मूर्त–अमूर्त कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।

वडा नं ९, ताथली फाँटमा आयोजना हुने प्रतियोगिताको फाराम खुल्ला गरिसकिएको छ । प्रतियोगितामा सहभागि हुन इच्छुकले १५ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ । दर्ता शुल्क १ हजारसहित ईमेल मार्फत पनि दर्ता फाराम पठाउन सकिनेछ ।

नगर प्रमुख खत्रीका अनुसार प्रतियोगितामा काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चित्तवन लगायतका जिल्लाका विभिन्न समुदाय, क्लब, संघसंस्था, समूह, दाफा भजन, खल, विद्यालय गरि करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ

प्रतियोगितामा सहभागिताका लागि प्रदेशमा रहेका ८४ वटा गाउँपालिका,४१ वटा नगरपालिका, १ वटा उपमहानगरपालिका र ३ वटा महानगरपालिकालाई इमेलमार्फत सहभागिताका लागि पत्राचार गरिएको छ ।

प्रतियोगितामा नेवारी फुड फेस्टिभल विशेष आर्कषकको रुपमा रहने पनि प्रमुख खत्रीले बताउनुभयो । स्थानीय मौलिक खाना÷ खाजालाई प्राथमिकता दिन र सो खानाको प्रवद्र्धनका लागि विशेष आकर्षणका रूपमा नेवारी खाना÷ खाजाको स्टल राखिएको पनि मेयर खत्रीले बताउनुभयो ।

प्रतियोगिताका विजेतालाई नगद् ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान मुछ्या र सिछ्या उपलब्ध गराइनेछ ।

प्रतियोगितामा द्वितीय हुनेलाई २५ हजार सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, भुछ्या १ थान, सिछ्या १ थान, तृतीय हुनेलाई १० नगदसहित शिल्ड र प्रमाणपत्र, धिमय् बाजा १ थान, भुछ्या १ थान पुरस्कारको ब्यवस्था गरिएको छ ।

त्यस्तै, सान्वना हुनेलाई ५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र, धिमय् बाजा १ थान, उत्कृष्ट छनौट हुनेलाई धिमय् बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १–१ थान पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतियोगितामा बोलमा २० प्रतिशत, तालमा १५ प्रतिशत, स्पष्टतामा १५ प्रतिशत, लयमा १० प्रतिशत, हाउभाउमा १० प्रतिशत, अनुशासनमा १० प्रतिशत, पहिरनमा १५ प्रतिशत, समयमा ५ प्रतिशत रहने गरि अंक भार तोकिएको छ ।

साथै अङ्कभारका लागि बेग्ला बेग्लै निर्णायकको बन्दोबस्त गरिनेछ । निर्णायकहरू सम्बन्धित विषय र क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरु छनौट गरिएको छ ।

प्रतियोगितामा परम्परागत नेवारी पोशाक अनीवार्य गरिएको छ । साथै प्रतियोगितामा प्रत्येक समूहबाट ४ जनाले मात्र प्रस्तुति दिन पाउनेछ । जसअन्तर्गत धिमय् बादक २ जना, भुछ्या वा सिछ्या बादक २ जना हुनुपर्ने नियम बनाइएको छ ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, वडा नंं ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, ८ का वडाध्यक्ष जनक खत्री, ९ का वडाध्यक्ष गणेश त्यातसहित कार्यापालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु पनि सहभागि हुनुहुन्थ्यो ।