चाँगुनारायण नगरपालिकामा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशालाको स्थापना, मेयर खत्रीद्धारा औपचारिक उद्घाटन

खरिपाटी: चाँगुनारायण नगरपालिकामा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला स्थापना गरिएको छ । नगरवासीहरुलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ ल्याबको स्थापना गरिएको हो । नगरपालिकामा मंगलबार आयोजित एक समारोहका बीच नगर प्रमुख जीवन खत्रीले ल्याबको औपचारिक उद्घाटन गर्नु भयो ।

भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरु मध्ये चाँगुनारायण खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो भने काठमाण्डौं उपत्यकाको तेस्रो नगरपालिका हो । यस अघि गोदावरी र महालक्ष्मी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण ल्याब संचालनमा ल्याई सकेका छन् ।

सो अवसरमा नगर प्रमुख खत्रीले सुरक्षित खानेपानी प्रणालीको दिगोपनको लागि निजी, वित्तीय क्षेत्रहरू र स्थानीय समुदायहरूसंगको सहकार्यमा ल्याब स्थापना गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । दिगो बिकास लक्ष्य अन्र्तगत “सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने” उदेश्य अनुरुप नगरपालिका अगाडि बढिरहेको बताउनुहुँदै नगर प्रमुख खत्रीले नगरबासीलाई खानेपानीको पहुुँचमा पुर्याउने कार्यमा लागिरहेको बताउनुभयो ।

‘हाल नगर क्षेत्र भित्रको खानेपानी गुणस्तर परीक्षण सेवाको लागि अन्य ठाउमा रहेको परीक्षण प्रयोगशालामा जानु पर्ने बाध्यता रहेको छ’, नगर प्रमुख खत्रीले भन्नुभयो, ‘यस खानेपानी गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना पश्चात सुरक्षित खानेपानी बारे जनचेतना अभिबृद्धि गरि जनस्वास्थ्य सुधारमा योगदान गर्ने उदेश्यले मिनी ल्याबको अवधारणा विकास गरिएको, हो ।’

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँका अनुसार नगरबासीहरुलाई सुरक्षित खानेपानीको पहुँचमा पु¥याउने लक्ष्यका साथ शुभारम्भ भएको मिनी प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित २७ वटा मध्ये १४ वटा आधारभूत प्यारामिटर परीक्षण गरिनेछ । जसमा धमिलोपन, तामक्रम, हाइड्रोजन विभव,, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, फोस्फ्ट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इ कोली, कुल कोलिफम) परीक्षण गरिनेछ ।

एन्फोको कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले मिनी ल्याब स्थापना गर्नु भन्दा पनि दिगोपना चुनौतीपूर्ण हुने भएकाले खानेपानी गुणस्तर परीक्षणमा समुदाय र सरोकारवाला निकायहरुको पहँुच कसरी बढाउने भन्ने बिषयलाई प्रमुख प्रथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।

नगरपालिकामा संचालित सुरक्षित पानी र उत्थानशिल नगरपालिका सर्वोच परियोजना संगको साझेदारी सहयोगमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला स्थापना गरिएको र अन्य परीक्षणको लागि ल्याबको क्षमता थपिदै लगिने वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले बताउनुभयो । मिनी प्रयोगशालालाई दिगो रुपमा संचालन गर्नको लागि चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यबिधि २०८१ समेत पास गरि सकेको छ ।

नगर क्षेत्र र बाहिरको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, बिद्यालयहरु, स्वास्थ्य संस्थाहरु, होटल व्यवसायीहरु, निजी जारको पानी उत्पादन र बिक्री वितरण गर्ने कम्पनीहरु, टंयाङ्कर व्यवसायीहरु लगाएत अन्य संघ संस्थाहरुले समेत खानेपानी गुणस्तर परीक्षणको लागि नगरपालिकाबाट संचालित ल्याबबाट सेवा लिन सकिनेछ । मिनी ल्याबमा खानेपानीको गुणस्तर परिक्षण गरे वापत नगरपालिकाले निर्धारण गरेको शुल्क तिरेर सेवा लिन सकिनेछ ।

मिनी ल्याबको स्थापना पश्चात खानेपानी सुरक्षा योजनाको कार्यान्वयन, सुरक्षित खानेपानी समुदाय सुनिश्चित, तीन तारे विद्यालय निर्माणमा समेत ल्याब मार्फत प्रदान गरिने सेवाबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

डुडोल ढुंगेधारा जीर्णेद्धार तथा पुर्ननिर्माण कार्य सम्पन्न, मेयर खत्रीद्धारा उद्घाटन

चाँगुनारायण नगरपालिका वडा नंं २ स्थित डुडोल ढुंगेधारा जीर्णेद्धार तथा पुर्ननिर्माण कार्य सम्पन्न भएको छ । मंगलबार नै आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख खत्रीले धाराको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, १ का वडाध्यक्ष सिजन कार्की, २ का पूर्व वडाध्यक्ष शिवहरि केसीसहित जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।