दुवाकोट: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्वास्थ्य सेवालाई टोल टोलमा पुर्याउन लागिपरेको बताउनु भएको छ । प्रमुख खत्रीले अब नागरिकहरु स्वास्थ्य समस्याको लागि अन्त जानुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिका लागिपरेको बताउनु भएको हो ।
चाँगुनारायण नगरपालिका १ नं वडा कार्यालय, सेवा निबृत स्वास्थ्यकर्मी समाज नेपाल र स्वास्थ्य चौकी दुवाकोटको आयोजनामा शनिबार सरस्वती मन्दिरको प्राङ्गणमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख खत्रीले नगरपालिकाभित्र रहेका नगर अस्पताल र स्वास्थ्य केन्द्रहरुमा हुने सेवाको चापलाई हेरेर क्रमीक रुपमा सेवा विस्तार गर्दै लगिएको बताउनुभयो ।
नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँगको समन्वयमा टोल टोलमा निःशुल्क स्वास्थ्य शिवीर आयोजना गर्दै नगरबासीलाई स्वास्थ्यको पहुँचमा पुर्याइरहेको बताउनुभयो ।
पछिल्लो समय नगर अस्पतालमा धेरै सुधार भइरहेको र २४ सै घन्टा आकस्मिक सेवा उपलब्ध गराउन सफल भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सिजन कार्कीले वडाबासीलाई लक्षित गरि आयोजना गरिएको शिवीरमा सयौ लाभान्वित भएकोमा खुसी ब्यक्त गर्नुभयो ।
शिवीरमा नशा तथा मस्तिष्क रोग, स्त्री तथा प्रसुति रोग, हाड जोर्नी, सामान्य चिकित्सक सेवा, बालरोग र सुगर , प्रेसरलगायतको चेकजाँच गरिएको थियो ।