पिखेल: चाँगुनारायण नगरपालिकाले भब्य समारोहका बीच नगर अस्पतालको चौथो वाषिर्कोत्सव मनाएको छ । अस्पताल प्रांगणमा शुक्रबार आयोजित कार्यक्रम स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो ।
सोही अवसरमा मन्त्री पौडेलले नवनिर्मित आकस्मिक कक्षको समेत रिवन काटेर उद्घाटन गर्नुभयो । साथै अस्पताल बुलेटिनको पहिलो अंक समेत विमोचन गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले चाँगुनारायण नगरपालिका उपचारको हव बन्ने निश्चित रहेको बताउनुभयो ।
क्यान्सर अस्पताल, प्रत्यारोपण केन्द्रको अस्पताल र दुवाकोटमा बन्ने भनीएको विर अस्पताल निर्माणको लागि डिपीआर बन्ने क्रममा रहेकोले नगरपालिका उपचारको हव बन्ने निश्चित रहेको र त्यसका लागि लागिपर्ने बताउनुभयो ।
चाँगुनारायण नगर अस्पतालमा १५ बेड स्वीकृतीका लागि विस्तृत प्रतिवेदन तयार गरि स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराएर अर्थ मन्त्रालयमा पठाइसकिएको पनि उहाँले जानकारी गराउनुभयो ।
नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले आफू निर्वाचीत भएर आएपछि चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्न लागिपरेको बताउनुभयो ।
अस्पतालमा २४ सै घन्टा आकस्मिक सेवा उपलब्ध गराउन सक्नु ठूलो उपलब्धी भएको बताउँनुहुँदै नगर प्रमुख खत्रीले आगामी दिनमा अस्पतालको कानूनी प्रक्रिया पूरा गरेर सेवा विस्तारमा विशेष ध्यान दिदैं अगाडि बढ्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले नगरपालिकाभित्र धेरै क्षेत्रमा खुल्ला ठाउँ र सार्वजनीक जग्गा हुँदा पनि सबै अस्पतालहरु भक्तपुर नगरभित्रै धुप्रिएर बसेको बताउनुभयो । धेरै अस्पतालले नगरभित्र जग्गा लिने र कार्य अगाडि नबढाउने कार्यप्रति असन्तुष्टि राख्नुहुँदै ग्रामीण भेगका जनताको सेवालाई माथिल्लो सरकारले सेवा विस्तार गर्दै लग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले चाँगुनारायण नगर अस्पताल नगरपालिकाले आफ्नै आन्तरिक स्रोत र साधनले मात्र यो अवस्थासम्म आएकोम खुसी ब्यक्त गर्नुभयो ।
उहाँले अस्पताल दर्ता गराउन प्रदेश सरकारबाट खेल्नुपर्ने भूमिका र आवश्यक जनशक्ती तथा उपकरणलगायत सहयोग गर्न तयार रहेको बताउनुभयो । सोही अवसरमा मन्त्री थापाले अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्नुभयो ।
प्रदेश सांसद सुरेश श्रेष्ठ, नगर उपप्रमुख रमेश बुढाथोकीले नगर अस्पताललाई छिटो भन्दा छिटो स्वीकृति प्रदान गरिदिन जोडदार माग गर्नुभयो । नगरपालिकाबाट कागजात नपुगे उपलब्ध गराउन तयार भएको बताउँदै स्वीकृतीका लागि सहयोग र भूमिका खेलीदिन आग्रह गर्नुभएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन कार्कीले नगरपालिकामा उपलब्ध सेवा र भइरहेको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, अस्पताल ब्यवस्थापन समितिका उपाध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सहमहामन्त्री मनोज कुमार थापा, नेपाली कांग्रेसका युवा नेता रोशन पौडेल, ९ वटै वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय तथा बृद्धिजीवीहरु, अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा उत्कृष्ठ कर्मचारी डा. वर्षा दाहाल र रेडियोग्राफर रोमन भुजेल, उत्कृष्ठ शाखा प्रयोगशाला ल्याटे कमल बहादुर पुन, ल्याव असिस्टेन्ट विमला पण्डित, रीता श्रेष्ठ, सुजिता राउत, महिला स्वयंसेविका सोममाया तामाङलाई सम्मान समेत गरिएको थियो ।
सांस्कृतिक प्रस्तुति समेत रहेको कार्यक्रम आसा माझीले संचालन गर्नु भएको थियो ।