चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता भब्यताका साथ सम्पन्न, बिहीबार पुरस्कार वितरण

खरीपाटी: चाँगुनारायणमा सोमबारबाट शूरु भएको राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । एक घर, एक खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नगरपालिकाले यो वर्ष राष्ट्रपति रनिङ शिल्ड सँगै बृहत्त खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।

हरेक साता निशुल्क रुपमा खेल प्रशिक्षण मार्फत खेलाडी उत्पादन गर्दै आएको नगरपालिकाले यो वर्ष १० वटा खेल विधामा खेलाएको थियो । अघिल्लो वर्ष ६ वटा विधामा मात्र खेल खेलाइने गरिन्थ्यो । यो वर्ष ४ वटा खेल विधा थपिएसँगै विगतका वर्षहरुमा भन्दा खेलाडीहरुको सहभागिता पनि उत्साहजनक रहेको छ ।

प्रतियोगितामा भलिबल, कवड्डी, उसु, कराते, एथलेटिक्स, तेक्वान्दो, फुटसल, क्योकुसिन कराते, क्रिकेट, ब्याडमिन्टन खेल खेलाइएको हो ।

नगर खेलकुद विकास समितिका संयोजक रघु केसीका अनुसार यो वर्ष क्योकुसिन कराते, फुटसल, ब्याडमिन्टन, क्रिकेट विधा थप गरिएको हो । पहिलो पटक थप गरिएको विधामा पनि खेलाडीहरुको उत्साहजन सहभागिता रहेको संयोजक केसीले बताउनुभयो ।

प्रतियोतिाका विभिन्न विधामा गरि १ हजार ७५० खेलाडी सहभागि थिए । विभिन्न ठाउँमा संचालन गरिएको विधागत खेलको सम्बन्धीत वडाका वडाध्यक्षहरुले खेल समापन गर्नुभएको थियो ।

खेलका सबै विधामा विद्यालयले प्राप्त गरेको पदकको आधारमा उत्कृष्ठ विद्यालय तथा विद्यार्थी घोषणा गरिनेछ । प्रतियोगिताको समापन बिहीबार नगरपालिकाको प्रागणमा हुनेछ ।