खरीपाटी: चाँगुनारायण नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर स्तरीय बृहत्त खेलकुद प्रतियोगिता शूरु भएको छ । नगरपालिकाको प्रागणमा सोमबार आयोजित एक समारोहका बीच संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री चौधरीले चाँगुनारायणमा खेल गतिविधि बढ्दै गएकोमा खुसी ब्यक्त गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । खेलकुदको जग विद्यालय नै भएकाले विद्यालयमा खेलकुद गतिविधि ब्यापक नबनाएसम्म राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न नसकिने बताउनुभयो ।
मन्त्री चौधरीले भक्तपुर जिल्लामा रंगशाला निर्माणका लागि पहल भइरहेको पनि बताउनुभयो । रंगशाला निर्माणका लागि जग्गा खोजी गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।
नगर प्रमुख जीवन खत्रीले विभिन्न अप्ठ्यारा, समस्या र बाधा अवरोधलाई चिर्दै, छिचोल्दै चाँगुनारायणलाई खेलमैत्री नगरको रुपमा विकास गर्न लागिपरेको बताउँदै दुई वर्षे कार्यकालमा नगरलाई खेलकुद क्षेत्रमा चलायमान बनाउन सफल बताउनुभयो । उहाँले खेल मैदानको अभावका बाबजुत पनि नगरका खेलाडीलाई राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागि गराएको बताउनुभयो ।
मेयर खत्रीले आगामी दिनमा खेल क्षेत्रलाई अझ बढी चलायमान बनाउन र खेल पूर्वाधार निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नगरपालिकाले खेलकुद विकास समिति गठन गरि खेलाडीलाई आवश्यक खेल सामाग्री दिएर खेल गतिविधीलाई अगाडि बढाउनु सराहनीय कार्य भएको बताउनुभयो । खेलाडीलाई खेल क्षेत्रमै टिकाई राख्न राज्यले जिम्मा लिनुपर्ने र देशभित्रै जिउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विद्यार्थीहरुलाई खेलका साथै योगमा पनि लगाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला विकास तथा समन्वय इकाई भक्तपुर प्रमुख कमला ज्ञवालीले शिक्षालाई प्रतिशतमा भन्दा सस्कारसहित सिप जोड्न आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नगरपालिकाले यसअघि नै १० वटै खेल विधामा खेल प्रशिक्षक नियुक्त गरि प्रतियोगिता संचालन गरिएको बताउनुभयो । नगरपालिकाको आन्तरिक स्रोत र साधनले भ्याएसम्म खेलकुद क्षेत्रको विकासमा लागिपरेको बताउँदै ठूला लगानीका पूर्वाधार निर्माण गर्न भने केन्द्रीय सरकारबाट सहयोग आवश्यक पर्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजु थापाले आफ्नो कार्यकालमा भक्तपुरलाई खेलकुदमय बनाउने बताउनुभयो । साथै उहाँले आफ्नो क्षमताले भ्याएसम्म रंगशाला निर्माणका लागि पहल गर्ने पनि बताउनुभयो ।
नगरपालिकाका सामाजिक विकास समिति अध्यक्ष तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले युवापुस्तामा खेलकुदप्रतिको रुची, नेतृत्व विकास तथा क्षमताको उच्च प्रदर्शन गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
वडा नंं ९ का वडाध्यक्ष गणेश त्यातले युवा खेलाडीलाई स्वदेशमै रोजागारीको ग्यारेन्टी गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस चाँगुनारायण नगर सभापती शिवहरि केसीले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र सिमित नगरी उनीहरुको अन्तर्निहित प्रतिभालाई प्रस्फूटन गराउन यस्ता प्रतियोगिता आयोजना गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले मार्चपास तथा स्काउटको तर्फबाट मार्चसहितको सलामी अर्पण गरिएको थियो । कार्यक्रममा मित्रश्री पाठशाला, गणेश मावि र बाल्मिकेश्वर माविका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका रञ्जना सापकोटा र अनुपा लामिछानेले संचालन गर्नु भएको थियो ।
प्रतियोगिता २६ गतेसम्म चल्नेछ । एक घर, एक खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नगरपालिकाले यो वर्ष राष्ट्रपति रनिङ शिल्ड सँगै बृहत्त खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।
विगतका वर्षहरुमा भन्दा उल्लेख्ख सहभागिता गराउँदै यो वर्ष १० वटा खेल विधामा खेल खेलाइएको छ । अघिल्लो वर्ष ६ वटा विधामा मात्र खेल खेलाइने गरिन्थ्यो ।
प्रतियोगितामा भलिबल, कवड्डी, उसु, कराते, एथलेटिक्स, तेक्वान्दो, फुटसल, क्योकुसिन कराते, क्रिकेट, ब्याडमिन्टन खेल खेलाइएको नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले बताउनुभयो ।
प्रतियोतिाका विभिन्न विधामा गरि १ हजार ७५० खेलाडी सहभागि छन् । प्रतियोगिताको समापन बिहीबार गरिनेछ ।