खरीपाटी: चाँगुनारायण नगरपालिकाले २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवस, ०८१ को अवसरमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेका स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। नगरपालिकाका प्रत्येक वडाका उत्कृष्ठ एक एक जना गरी ९ जना स्वयम्सेविकाहरुलाई सम्मान गरिएको हो ।
नगरपालिकाको सभालमा आयोजित कार्यक्रमाबीच नगर प्रमुख खत्रीले सम्मान गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख खत्रीले स्वयंसेविकाहरुले निःस्वार्थ रुपमा नगरवासीहरुलाई दिदै आएको सेवाप्रति आभार व्यक्त गर्नु भयो ।
नगरबासीलाई नगरपालिकाले दिदै आएको सेवाहरु बारे राम्रो जानकारी हुन नसकेको भन्दै स्वयंसेविकाहरुलाई नगरपालिकाको अभियान तथा गरेका राम्रा कार्यहरु लिएर घरदैलो पुग्न आग्रह गर्नु भयो ।
नगरपालिकाको कार्यसम्पादन बारे समीक्षाको आवश्यकता रहेकोमा जोड दिदै नगर प्रमुख खत्रीले नीतिगत व्यवस्था बाहेक थप सुविधा उपलब्ध गराएर स्वयम्सेविकाहरुलाई नगरवासीहरुको सेवामा लगाइने बताउभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाईले वास्तविक राष्ट्रसेवक स्वयमसेविका भएको बताउँदै आफ्नो निजी स्वार्थ त्यागेर समाजका लागि जनस्वास्थ्यमा खेलेको भूमिका शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडाध्यक्ष जनक खत्रीले जननिर्वाचित भएर आएपछि जनप्रतिनिधीले तय गरेको जनस्वास्थ्यका कार्यक्रमहरु जनताको बीचमा पुर्याउने र कार्यान्वयन गर्ने कार्य स्वास्थ्य स्वयम्सेविकाहरुले गरेको प्रति प्रशंसा गर्नुभयो ।
उहाँले स्वास्थ्य संकटमा स्वयम्सेवकहरु घर दैलो पुग्ने पहिलो व्यक्ति भएकाले उहाँहरुको स्तरोन्नतिका लागि जनप्रतिनिधीहरु सचेत रहेको बताउनु भयो ।
कार्यक्रममा चाँगुनारायण अस्पतालका प्रमुख तथा सुपरीटेन्डेट डा. अर्जुन कार्कीले समुदायमा हिड्ने स्वमसेवकहरु जनस्वास्थ्यका बारेमा जानकार हुनुपर्नेमा जोड दिदै थप तालिम एवं परामर्श दिएर सक्षम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले चाँगुनारायण नगर अस्पतालले दिदै आएको स्वास्थ्य सेवा बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रशासन शाखाका अधिकृत सुरज पौडेल, स्वास्थ्य शाखा प्रमुख दिलकुमार सुवाल, सामाजीक विकास शाखा प्रमुख निला कुमारी घिमिरे, जनस्वास्थ्य कार्यालय भक्तपुरका मेखराज पौडेल, शिक्षा शाखा प्रमुख दिनेश अर्याल, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सञ्जाल अध्यक्ष जमुना थापाले पनि स्वास्थ्य स्वयमसेविकाहरुको योगदान, भूमिका र दायित्व बारे आ-आफ्नो धारणा राख्नु भएको थियो ।
सो अवसरमा स्वास्थ्य स्वयमसेविका उर्मिला अवाल, प्रमिला प्रधान, भवानी कुसाथा, दुर्गा कुईकेल, गंगादेवी ढुंगाना, कान्छी लामा, सावित्री केसी, बीरकुमारी काफ्ले र कोपीला केसीलाई दोसला ओडाई, सम्मान पत्र र मायाको चिन्ह सहित सम्मानित हुनु भएको थियो ।