खरीपाटी: चाागुनारायण नगरपालिकाले ९ वटै वडामा संचालीत सहकारी संस्थाहरुका सञ्चालक र ब्यवस्थापकहरुलाई नियमीत रुपमा सहकारीका विषयमा जानकारी गराउने कार्य गर्दै आएको छ ।

नगरपालिकाको सहकारी शाखाले सहकारी संस्थाका संचालक र ब्यवस्थापकलाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले वडास्तरमै पुगेर विभिन्न कार्यक्रम गरेको हो ।

नगरका कुनै पनि सहकारी संस्थामा हालसम्म कुनै समस्या नरहेको र आगामी दिनमा पनि समस्या आउन नदिन सचेत गराउने कार्य गर्ने उद्देश्यले वडा तहमा सहकारी अनुशिक्षण अभिमूखीकरण कार्यक्रम संचालन भइरहेको छ ।

त्यसै सिलसिलामा वडा नंं १, २ र ३ मा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । वडा नंं १ मा ४ वटा सहकारी संस्था रहेका छन् । वडाध्यक्ष सिजन कार्कीले उद्घाटन गर्नु भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, सहकारीकर्मी, सहकारी संस्थाका संचालक तथा ब्यवस्थापकहरुको सहभागिता थियो ।

त्यस्तै, वडा नंं २ मा १३ वटा सहकारी संस्था रहेका छन् । वडाध्यक्ष सोम प्रधानले उद्घाटन गर्नु भएको कार्यक्रममा सहकारीकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

वडा नंं ३ मा ६ वटा सहकारी संस्था रहेका छन् । वडाध्यक्ष श्याम सुन्दर धिमालले उद्घाटन गर्नु भएको कार्यक्रममा नगरस्तरीय सहकारी सञ्जालका संयोजक प्रल्लाद बास्तोलाले प्रशिक्षण दिनु भएको थियो ।

सहकारी शाखा प्रमुख शर्मीला पोखरेलले अन्य वडामा चाँडै अनुशिक्षण प्रशिक्षण कार्यक्रम गरिने बताउनुभयो । नगरका कुनै पनि सहकारीमा हालसम्म कुनै पनि समस्या नरहेको र सहकारीहरुलाई नियम पालनामा कडाई गर्दै लगिएको हो ।

नगरभित्र ७१ वटा सहकारीहरु सूचीकृत छन् । त्यसमध्ये २३ वटा कृषी संस्थाहरु, ११ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु र बचत तथा ऋण सहकारी संस्थाहरु ३५ वटा रहेका छन् ।






