चाँगु: अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार चाँगुनारायण नगरपालिका वडा नंं ४ स्थित चाँगुमा व्हिलचियरसहितको र्याली सम्पन्न गरिएको छ । बाल अपाङ्ग टेवा संस्थासँगको सहकार्यमा आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हक हितका लागि कार्य गरिरहेको बताउनुभयो ।
मेयर खत्रीले नगरपालिकालाई अपाङ्ग मैत्री बनाउने सम्बन्धमा आफू सचेत रहेको बताउनुभयो । नयाँ बन्ने संरचनाहरु अपाङ्गमैत्री बन्दै गएको र बनाउन लागिपर्ने बताउनुहुँदै मेयर खत्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले गर्ने भेदभाव पहिले भन्दा सुधारोन्मुख रहेपनि पुर्णरुपमा हटाउन राज्य, समाज र सरोकारवाला सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, बाल अपागं टेवा संस्थासँगको सहकार्यमा नै नगरपालिकाले ९ वटै वडाका घुँडा मुनी खुट्टा गुमाएका ब्यक्तीहरुलाई डिजीटल प्रविधि प्रयोग गरि नि:शुल्क रुपमा कृतीम खुट्टा उत्पादन तथा वितरण गर्न लागिएको पनि मेयर खत्रीले जानकारी गराउनुभयो ।
जोरपाटीबाट काटेश्वर हुँदै चाँगुनारायणमा आएर टुगिंएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले अवसर पाए जस्तो सुकै काम पनि गर्न सक्ने र आफूहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।
संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने घोषणा गरेको थियो । सोही घोषणपछि विश्वभर नै जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिएको छ ।
संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको थियो । नेपालमा पनि सोही नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी मनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।