चाँगुनारायण नगरपालिकाद्धारा नगरकोटमा ‘पर्यटक सूचना केन्द्र’को स्थापना, भ्रमण वर्ष २०८२ को तयारी तीब्र

नगरकोट: पर्यटकीय नगरी नगरकोटमा पर्यटक सूचना केन्द्रको स्थापना गरेको छ । वडा नंं ६ स्थित महामञ्जुश्री चोकमा नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारी स्वस्वप नगर प्रमुख जीवन खत्रीले शुक्रबार पर्यटक सूचना केन्द्रको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले आफू निर्वाचीत भएपछि पहिलो कार्यपालिका बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरिएको जानकारी गराउनुहुँदै सोही अनुरुप पर्यटक सूचना केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

नगरकोट आउने पर्यटकलाई कुनै समस्या वा कुनै पनि किसिमको गुनासो गर्न नपर्ने गरि सूचना केन्द्रको स्थापना गरिएको मेयर खत्रीले स्पष्ट पार्नुभयो ।

नगर प्रमुख खत्रीले पर्यटनमार्फत आर्थिक विकासमा टेवा पुर्याउने संकल्पका साथ भ्रमण वर्ष मनाउने निर्णय गरिएको बताउनुहुँदै भ्रमण वर्षलाई भब्य र ब्यवस्थित बनाउनका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य भइरहेको बताउनुभयो ।

नगरपालिकाले आगामी २०८२ बैशाख १ गते भ्रमण वर्ष घोषणा गर्दै वर्षभरि नै यहाँको कला, संस्कृतिको प्रचार प्रसार तथा पर्यटन प्रबद्र्धन गरिने बताउनुभयो ।

वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामाले भ्रमण वर्ष २०८२ को तयारी स्वस्वप पर्यटकीय पूर्वाधार निर्माणका लागि नगरपालिकाले शौचालय निर्माण, प्रतिक्षालय निर्माण, होलिङ बोर्ड राख्ने जस्ता कार्य भइरहेको बताउनुभयो ।

सूचना केन्द्रमार्फत पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । यस्तै केन्द्रमा नगरकोटको सम्पूर्ण पर्यटकीय सूचनालाई समेत व्यवस्थित बनाइनेछ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, पर्यटन शाखा प्रमुख सन्तोषी नेपालीसहित जनप्रतिनिधि तथा कर्मचारीहरुरुको सहभागिता रहेको थियो ।