दुवाकोट : चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा जेष्ठ नागरिक मिलन चौतारीका ज्येष्ठ नागरिकहरु र स्विस रेडक्रसका प्रतिनिधिहरूबीच अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत विहिबार अन्तक्र्रिया र भेटघाट सम्पन्न भएको हो ।
स्वीस रेडक्रसका प्रतिनिधिहरुलाई स्वागत गर्नुहुदै चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले जेष्ठ नागरिकहरूप्रति संवेदनशील भई जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले नगर प्रमुख जीवन खत्रीको विशेष पहलमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको समन्वयमा स्वीस रेडक्रससंगको साझेदारीमा सहारा कार्यक्रम कार्यान्वयनमा आएको बताउनुभयो ।
हनुमानटार जेष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मीभक्त सुवालले हालसम्म हनुमानटार जेष्ठ नागरिक मिलन चौतारीले गरेका गतिविधिहरूको बारेमा सबैलाई जानकारी दिनुभएको थियो । उहाँले ज्येष्ठ नागरिकहरुका लागी स्वास्थ्य शिविर, योग अभ्यास, सहयोगी सामग्रीहरु वितरण, धार्मिक भ्रमण लगायतका कार्यहरु सञ्चालनमा ल्याएकोमा नगरपालिका तथा रेडक्रसलाई धन्यवाद दिनुभयो ।
उहाँले ज्येष्ठ नागरिकहरुको लागी सामुदायिक भवनको व्यवस्था, मनोरञ्जनका लागि वाद्यवाधन सामग्रीहरु लगायतको व्यवस्थापनको लागि वडा मार्फित नगरपालिकालाई अनुरोध गर्नुभयो ।
स्वीस रेडक्रसका तर्फबाट आउनुभएका प्रतिनिधिहरुले आफूलाई चाँगुनारायण नगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिकहरूसँग भेट गर्न पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । हाल जेष्ठ नागरिकहरूको जनसङ्ख्या पनि बढ्दो क्रममा रहेकोले जेष्ठ नागरिकको क्षेत्रमा स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना मार्फत आफूहरू पनि समावेश हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाको जेष्ठ नागरिकको रुपमा आफू पनि जेष्ठ नागरिक भएपछि गौरवका साथ नगरपालिकामा जीवनयापन गर्न इच्छुक रहेको कुरा पनि व्यक्त गर्नुभयो ।
नेपाल रेडकस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले सहारा परियोजनाको उद्देश्य र गतिविधिहरू लगायत जेष्ठ नागरिकको क्षेत्रमा आवश्यक रुपमा गरिनुपर्ने गतिविधिहरूको जानकारी दिनु भएको थियो ।
उहाँले स्थानीय तहसंगको सहकार्यमा ज्येष्ठ नागरिकहरुको मुहारमा खुशी ल्याउने कार्यक्रम रेडक्रसले सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउनुहुदै सबै सरोकारवाला निकायहरुको साथ र सहयोगमा प्राभावकारी रुपमा परियोजना सञ्चालन गरिने बताउनुभयो ।