
खरीपाटी: चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले हरेक क्षेत्रमा सुधार गर्दै लगिरहेको बताउनु भएको छ । आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उपप्रमुख बुढाथोकीले पछिल्लो समय नगरपालिकामा सुधार हुँदै गएको बताउनुभयो ।
नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहेपनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको बताउँदै बस नचल्ने स्थानमा ‘अटो’ र दशैंको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उप प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
नगरपालिकाले चाँगुनारायण नगर अस्पताल सञ्चालन गरेपनि त्यसले हालसम्म सरकारबाट स्वीकृति नपाएको उहाँले बताउनुभयो । नगरपालिकाले तोकिएका सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेका कारण स्थानीयको उपचारमा समस्या भएको उप प्रमुख बुढाथोकीले बताउनुभयो ।
स्वास्थ्य र खेलकुदलाई सँगैसँगै लैजान नगरपालिकाले नै प्रशिक्षक राखेर खेलकुदको तालिम दिइरहेको बताउँदै उपप्रमुख बुढाथोकीले खेलकुदले स्वस्थ रहन मद्दत गर्ने ठानेर स्वास्थ्य र खेलकुदलाई साथसाथै लैजाने गरी कार्यहरु गरिएको स्पष्ट पार्नुभयो ।

शिक्षा क्षेत्रमा पनि नगरपालिकाले आवश्यक पूर्वाधारदेखि शिक्षकरुको व्यवस्थापनसमेतमा सहयोग पुर्याउँदै आएको उहाँको भनाई थियो । त्यससँगै शैक्षिक गुणस्तर उकास्न सहयोग पुगेको उपप्रमुख बुढाथोकीले बताउनुभयो।
चाँगुनारायण नगरपालिकाका अधिकांश वडा ग्रामिण बस्ती रहेको र स्थानीयको आम्दानीको प्रमुख आम्दानीको स्रोत कृषि रहेको बताउनहुुँदै नगरभित्रका ८० प्रतिशत जमिनमा कृषि उत्पादन गरिँदै आएपनि को प्रर्याप्त मात्रामा रासायनिक मल ल्याउन भने समस्या परेको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो। तर, नगरपालिकाले पशुपालनमा भने उल्लेख्य प्रगति गरेको उहाँको भनाइ छ ।
उपप्रमुख बुढाथोकीका अनुसार, एक घर एक धाराको नीति अनुसार सबै नगरबासीलाई आवश्यकता अनुसार पानीको वितरण गर्न बजेट विनियोजन गरिएको छ ।
हालैको बाढी पहिरोले ‘डोजरे विकास’ भएका क्षेत्रमा बढी क्षति भएको भन्ने गुनासो आएको उल्लेख गर्दै प्रक्रिया अनुसार नै नगरपालिकाको स्वीकृति लिएर भएका कार्यहरुमा अवरोध गर्न नमिल्ने बुढाथोकीले बताउनुभयो। मनलाग्दी जथाभावी तरिकाले डोजर लगाएको खण्डमा भने जरिवाना लगाइएको उहाँको भनाइ थियो ।