खरीपाटी: चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पछिल्लो समय नगरपालिकाले हरेक क्षेत्रमा फड्को मार्दै गएको बताउनु भएको छ ।
आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख खत्रीले आफ्नो नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि धेरै क्षेत्रमा उल्लेख्य सुधार गर्दै आएको बताउनुभयो ।
नगरपालिका वायुगुणस्तरको सुधारका लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो पालिका बनेको, पहिलो पटक नगरबासीलाई निशुल्क रगत र अक्सिजन उपलब्ध गराउने कार्यको शूरुवातलगायत धेरै क्षेत्रमा नमूना र उदाहरणीय कार्य गर्दै गइरहेको नगर प्रमुख खत्रीले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नगरप्रमुख खत्रीले नगरले सधैं नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको पनि बताउनुभयो । ‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं । भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । तर, प्रचारप्रसार खासै नभएका कारण हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन’, नगरप्रमुख खत्रीले भन्नुभयो ।
कार्यक्रममा नगरप्रमुख खत्रीले आफूहरु शासकका रुपमा नभइ सेवकका रुपमा सेवा दिइरहेको बताउनुभयो । कानुनले नै तोकेको ऐन नियमको दायरामा बसेर पारदर्शी ढंगले कार्यहरु गरिरहेको उल्लेख गर्दै खत्रीले नगरपालिकामा काम लिएर आउने सेवाग्राहीलाई ‘मुस्कानसहितको सेवा’ दिइरहेको उहाँको भनाई छ ।
नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएको छ । त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्य भइरहेको नगर प्रमुख खत्रीको भनाइ थियो । तर, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने भएकाले निर्माण कार्य नगर्ने निर्माण ब्यवसायीको ठेक्का रद्द गर्न जोडदार माग समेत गर्नुभयो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताउँदै प्रमुख खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएको बताउनुभयो ।
अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहेपनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको जानकारी गराउनुभयो । बस नचल्ने स्थानमा ‘अटो’ र दशैंको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उप प्रमुख बुढाथोकीले बताउनुभयो ।
नगरपालिकाले चाँगुनारायण नगर अस्पताल सञ्चालन गरेपनि त्यसले हालसम्म सरकारबाट स्वीकृति नपाएको बताउनुभयो। नगरपालिकाले तोकिएका सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेका कारण स्थानीयको उपचारमा समस्या भएको उप प्रमुख बुढाथोकीले बताउनुभयो ।
स्वास्थ्य र खेलकुदलाई सँगैसँगै लैजान नगरपालिकाले नै प्रशिक्षक राखेर खेलकुदको तालिम दिइरहेको बताउँदै उपप्रमुख बुढाथोकीले खेलकुदले स्वस्थ रहन मद्दत गर्ने ठानेर स्वास्थ्य र खेलकुदलाई साथसाथै लैजाने गरी कार्यहरु गरिएकोे बताउनुभयो ।
कार्यक्रममा नगरपालिका प्रशासन शाखाका अधिकृत सुरज पौडेलले पछिल्लो नेतृत्व आएसंगै सडक लगायतका पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्यहरु भइरहेको बताउनुभयो । वडा कार्यालयको भवन निर्माण भइरहेको साथै, बाढीपहिरोले बिगारेको सडकहरुको पुनःनिर्माणका कार्यहरु पनि सँगसँगै लगिएको उहाँको भनाई छ ।
कार्यक्रममा वडा नंं २ नं का वडाध्यक्ष सोम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको बताउँदै हालैको एसईईको नतिजामा पनि नगरभरिमै सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी वडाको सामुदायिक विद्यालयको रहेको बताउनुभयो । उहाँले वडाबासीलाई घरघरममै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ् कार्यक्रम’ लागू गराउने पनि जानकारी गराउनुभयो ।
६ नं वडाका अध्यक्ष धन बहादुर लामाले हरेक आवश्यकता पुरा गर्ने प्रयास गरिएको बताउनुहुँदै वडाले आफ्नै क्यालेण्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडकको दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएको लामाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै ७ नम्बर वडाका अध्यक्ष श्याम नायजु श्रेष्ठले आफू निर्वाचित भएर आएपछि अघिल्ला कार्यकालमा पुरा नभएका कार्यहरुलाई निरन्तरता दिएको बताउँदै पछिल्लो समय धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माण आदिका कार्यहरु समेत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिनुभएको थियो ।
अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले विभिन्न क्षेत्रका कार्यप्रगतिबारे जिज्ञासा राखेका थिए ।
राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले स्थानीय तहदेखि संघीय सरकारसंगको समन्वयमा अध्ययन, अनुसन्धान लगायका काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष एवं पत्रकार महासंघ भक्तपुरका पुर्व अध्यक्ष पुष्करराज बुढाथोकी र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले पनि मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गर्नु भएको थियो ।