
खरीपाटी: खेल गतिविधीलाई चलायमान बनाउँदै लगेको चाँगुनारायण नगरपालिकाले विभिन्न विधाका ९ जना खेल प्रशिक्षक नियुक्त गरेको छ । नगरपालिकाले शुक्रबार खुल्ला प्रतिस्पर्धाबाट छनौट हुनु भएका खेल प्रशिक्षकलाई नियुक्ती पत्र समेत प्रदान गरेको छ ।

नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईसहित वडाध्यक्षहरुको सहभागितामा छनौट भएका ९ जना सहायक खेल प्रशिक्षकलाई नियुक्ति पत्रसहित खेल सामाग्री प्रदान गरिएको हो ।

नगरपालिकामा मेयर जीवन खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि नगरस्तरीय खेलकूद समिति गठन गरि ९ वटै वडाका विभिन्न खेलमैदानमा निःशुल्क खेल प्रशिक्षण सञ्चालन हुँदै आएको छ । जसले गर्दा खेल गतिविधि चलायमान हुन थालेपछि यसलाई अझ बढी प्रभावकारी र ब्यापक बनाउने उद्देश्यले प्रशिक्षक छनौट गरिएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले छनौट भएका खेल प्रशिक्षकहरुलाई बधाई दिनुहुँदै खेल गतिविधिलाई अझ बढी चलायमान बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

मेयर खत्रीले आफू निर्वाचीत भएर आएपछि खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको र विस्तारै प्रतिफल निस्कन थालेको बताउनुभयो ।

छनौट भएका प्रशिक्षकमा उसु तर्फ राजन रसाईली, तेक्वान्दोतर्फ प्रेम कुमार लामा, फुटबलतर्फ श्याम भडेल, कराँतेतर्फ विजय राम याण्डो र स्वीटी गेलाल, कबड्डीतर्फ प्रदिप ढकाल, क्योकुसिनतर्फ करुणा राउत क्षेत्री, क्रिकेटतर्फ सौरभ साखकर्मी, एथलेटिक्सतर्फ सागर श्रेष्ठ हुनुहुन्छ । छनौट भएका प्रशिक्षकले नगरका विभिन्न ठाउँमा खेल प्रशिक्षण दिनुहुनेछ ।

नगर खेलकूद विकास समितिका संयोजक रघु केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, वडा नंं ५ का वडाध्यक्ष जयन्द् खडका, वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा, वडा नंं ७ का वडाध्यक्ष श्याम कृष्ण नयाजु श्रेष्ठ, प्रशासन शाखाका अधिकृत सुरज पौडेल लगायत सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, सोही अवसरमा वडा नंं ७ मा हुन लागेको १५ वर्ष मुनिका खेलाडीहरूको फुटबल प्रतियोगितामा भाग लिने विभिन्न ३ वटा बाल क्लवहरुलाई समेत खेल सामाग्री हस्तान्तरण गरिएको छ ।



