
खरिपाटी: नेपाल सरकार गृह मन्त्रालयद्धारा गठित विपद् सम्बन्धि अनुगमन तथा निरीक्षण कार्यदलले चाँगुनारायण नगरपालिकामा मनसुनजन्य विपदको असर, नगरपालिकाले गरेको प्रतिकार्य र विपद्बाट भएको क्षतिको बाारेमा जानकारी लिने उद्धेश्यले स्थलगत निरीक्षण गरेको छ ।
कार्यदलले नगर प्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, विपद् व्यवस्थापन उपशाखाका प्रमुख दिनेश थापासंग छलफल गरेको छ ।

गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद अर्यालले नेतृत्व गर्नुभएको कार्यदलमा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौला, संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवश्री देवराज चौलागाई, थिमी प्रहरी प्रभागका प्रहरी नायव उपरिक्षक प्रेम सागर के.सी र डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख हुनुहुन्थ्यो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले टोलीलाई मनसुनजन्य विपद्बाट चाँगुनारायण नगरपालिकामा भएको क्षतिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरि आवश्यक पूर्वतयारीमा लगानी गरेका कारण तुलनात्मक रुपमा क्षति न्यूनीकरण गर्न सफल भएको बताउनुभयो ।

स्थानीय विपद् व्यवस्थापन समितिको नेतृत्वमा विपद् व्यवस्थापन इकाई, नगर प्रहरी सहितको विपद् व्यवस्थापन टोली, स्थानीय जनप्रतिनिधिहरु त्था दलका प्रतिनिधिहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विपद् व्यवस्थापन स्वयंसेवक तथा स्थानीय समुदायको सक्रियताका कारण पनि चाँगुनारायण नगरपालिकाको मनसुनजन्य विपद्को प्रतिकार्य प्रभावकारी भएको मेयर खत्रीको भनाई छ ।

उहाँले नगरपालिका क्षेत्र भित्र भएर बग्ने मनोहरा लगायतका नदीहरुमा आएको बाढीका कारण करीब ३ हजार रोपनी जग्गामा लगाएको बालीनालीहरुको क्षति भएको आँकलन गरिएको पनि बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँले जोखिमयुक्त जीतपुर, चाँगुनारायण जाने सडकहरुको केही भागहरु तत्काल मर्मत सम्भार तत्काल गरेका कारण थप क्षति हुन नपाएको जानकारी गराउनुहुँदै भत्किएका क्षतिग्रस्त संरचनाहरु पूर्ननिर्माण तथा मर्मतका लागि विस्तृत विवरण संकलन भइरहेको बताउनुभयो ।

त्यसै गरी विपद् व्यवस्थापन उपशाखाका प्रमुख दिनेश थापाले नगरपालिका क्षेत्रमा यस वर्षको मनसुनबाट विद्यालय, सडक, पुल, सार्वजनीक भवन, व्यक्तिगत घरहरु भत्कनुका साथै जोखिममा परेको भौतिक संरचनाहरुको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकामा छलफल पश्चात् नगर प्रमुख खत्रीको नेतृत्वमा असोज १० गते देखि १२ गते सम्मको अबिरल वर्षात्का कारण चाँगुनारायण नगरपालिकाभित्रका विभिन्न क्षतिग्रस्त भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण गरेको थियो ।

टोलीले चाँगुनारायण नगरपालिका वडा नं ७ पगरी टोलको क्षतिग्रस्त पुल, वडा नं ६ को नारायण लामिछानेको जोखिमयुक्त घर, वडा नं ५ को तेलकोटबाट नाट्येश्वरी जाने सडकको बनगाउँ र त्यात टोलको पहिरो, वडा नं ४ को इन्द्रेको खोल्चाको पहिरो अवलोकन तथ ानिरिक्षण गरेको थियो ।