लगातार झरी परिरहेकाले सजगता अपनाउन चाँगुनारायणका मेयर खत्रीको अपिल

खरीपाटी: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीे लगातारको झरी परिरहेकाले सजग रहन आग्रह गर्नु भएको छ । चाँगुनारायण नगरपालिकाकाले खोला, खहरे, कुलोको किनार छेउछाउ बसोबास गर्ने र भिरालो धरातलमा घर हुने नगरबासीहरूलाई सजगता अपनाउन आग्रह गरिसकेको र सम्बन्धित निकायलाई उद्धार गर्न निर्देशन दिईसकेको बताउनुभयो ।

‘भक्तपुर जिल्लाको सबै भन्दा ठूलो नगरपलिका त्यसमाथि भौगोलिक बिकटता अनि खोला खहरे र कुलोले भरिएको छ। पहिरो जान सक्छ, बाढी आएर सडक भत्किन सक्छ, पर्खाल ढल्न सक्छ, यी त पछि बनाउन सकिन्छ, पहिलो भनेको मानवीय क्षति हुन नदिनु नै हो । मानवीय क्षति भएमा पुनः बनाउन सकिँदैन। त्यसैले भत्केको र डुबान परेको फोटो र भिडियो पोष्ट गरेर तुरुन्त बिपद ब्यबस्थापन समितिलाई जानकारी गराउन आग्रह गर्दछु’, नगर प्रमुख खत्रीले भन्नु भएको छ ।

नगरपालिकाले उद्धार गर्न भन्दै आफैं अघि नसर्न, तालिम प्राप्त बिपद ब्यबस्थापन समितिका सदस्य, प्रहरी,सशस्त्र प्रहरी र सेनालाई खबर गर्न र आफू पछि लागेर सहयोगीको भूमिका निभाउन, आफू पनि बच्न र अरुलाई पनि बचाउन अपिल गरिएको छ ।