चाँगुनारायण नगरपालिकाद्धारा शिक्षा दिवसको अवसरमा १ सय १८ अवकास प्राप्त शिक्षकलाई सम्मान

खरीपाटी: चाँगुनारायण नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ । नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रम नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगरपालिकाले नगरभरिका अवकाश प्राप्त १ सय १८ जना शिक्षकहरुलाई सम्मान गरेको छ । नगर प्रमुख खत्रीले दोसल्ला, मायाको चिनो तथा प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले शैक्षीक क्षेत्रको विकासका लागि शिक्षकहरुको महत्वपूर्ण भूमीका हुने बताउनुभयो ।

समाज परिवर्तनका लागि शिक्षण पेसामा जीवन बिताउनु भएका शिक्षकहरुको महत्वपूर्ण हात हुने भएकाले शैक्षीक क्षेत्रको विकास तथा उत्थानमा सहयोग गर्ने अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरिएको र सम्मान गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउनुभयो ।

चाँगुनारायणले पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले शैक्षीक क्षेत्रको गुणस्तर बृद्धि गर्न शिक्षक, विद्यार्थी र अभिभावक सबैको उत्तीकै जिम्मेवारी हुने बताउनुभयो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख दिनेश अर्याल, कार्यपालिका सदस्य निरु केसी, प्रधानाध्यापकको तर्फबाट पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद दुलाल र गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक इञ्ज बास्तोलाले पनि मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा दुई शिक्षक प्रल्हाद भक्त तिमिल्सेना र राधाकृष्ण फुयाँललाई समेत सम्मान गरिएको थियो ।