चाँगुनारायण नगरपालिकाका ३५० परिवार मनसुनजन्य विपद्बाट प्रभावित, प्रभावितलाई तत्काल आवश्यक सामाग्री जुटाउने देखी पहिरो पन्छाउने काममा नगरपालिका सक्रिय

खरीपाटी: चाँगुनारायण नगरपालिकाका ३५० परिवार यस वर्ष बाढी पहिरोबाट प्रभावित भएका छन् । मनसुनी प्रणाली सक्रिय रहदा हालसम्म ३५० घरपरिवार बाढी पहिरोबाट प्रभावित भएको नगरपालिकाका विपद् शाखा प्रमुख दिनेश थापाले जानकारी दिनु भयो ।

विपद् प्रतिकार्यका लागि नगरपालिका कसरी जुटिरहेको छ ?

विपद् प्रतिकार्यका लागि जुटिरहेको नगरपालिकाले जनाएको छ । तत्कालका लागी बोरा वितरण गर्ने कार्य नगरपालिकाबाट भइरहेको छ । साथै जिल्ला प्रशासन कार्यालय मार्फत सिचाई कार्यालयसँगै तीन सय थान तार जाली माग गरिएको छ ।

आँशिक रुपमा घर तथा टहराहरु भत्किएको र घर वरीपरि पहिरो गएका स्थानहरुमा तत्काल प्लाष्टिक, त्रिपाल र बोरा वितरण गरी जोखिम न्यूनीकरणका कार्यहरु भइरहेका हुन् ।

पहिरोका कारण सडक अवरुद्ध भएका वडा नं ५, ६, ७ , ८ र ९ का विभिन्न स्थानमा नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा जनप्रतिनिधि, रेडक्रस, विपद् व्यवस्थापन स्वयंसेवक तथा स्थानीयको सहयोगमा पहिरो पन्छाउने कार्य भएको छ ।

बाढीबाट माटो कटान भई असुरक्षित परिवारलाई तत्काल सुरक्षीत स्थानमा सार्ने तथा बाढीको जोखिम रोकथामको लागि वडा नं २ र ७ मा बाँस, जस्ता र बोराको प्रयोग गरी सुरक्षा निकायको सहयोगमा बाँध बाध्ने कार्य गरिएको छ ।

\अविरल वर्षात्को समयमा नगरपालिकाको आकस्मिक कार्य सञ्चालन केन्द्र क्रियाशील भई तत्काल प्रतिकार्य तथा विवरण संकलन र आवश्यक समन्वयको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

यी हुन् वडागत रुपमा गरिएका प्रतिकार्यहरु

वडा नं १ को मनोहरा खोलामा आएको बाढीको कारण जोखिममा रहेका घरहरु नजिक खोलामा जोखिम न्यूनीकरणका लागि बाँध बाध्ने कार्य गरिएको छ । वडा कार्यालय जाने बाटोमा प्लाष्टिक र त्रिपाल राखेर पहिरो रोक्ने कार्य गरिएको छ । स्थानीय मन्दिर परिसरमा गएको पहिरो रोकथामको लागि त्रिपाल र प्लाष्टिक वितरण गरिएको छ ।

वडा नं २ नयाँ बस्तीमा कुलो फुटेको कारण बाँध बाध्ने कार्य गरिएको, नरडोल अगाडीको बाटोको कुलो डोजर लगाई सफाइ गर्ने कार्य गरिएको छ । वडा नं ३ गेलाल गाँउमा मूला खोलाको बाढीबाट भएको डुबानमा प्रतिकार्य, ज्योतिलिंगेश्वर जाने दाहाल गाँउको सडकको उकालोको पहिरोको जोखिम न्यूनीकरण तथा विजुलीको खम्बा परिवर्तन, चुन देवी मन्दिरको पहिरो रोकथामको लागि प्लाष्टिक राखीएको र पानीको व्यवस्थित निकासको प्रबन्ध मिलाइएको छ ।

वडा नं ४ चाँगु जाने मूल सडकमा आएको पहिरो जोखिम न्यूनीकरणका कार्य, पहिरो आएर जोखिममा रहेको १ घरको पहिरो हटाई प्लाष्टिक र त्रिपाल राखी जोखिम न्यूनीकरण गरीएको छ । साथै वडा कार्यालय जाने बाटोमा रहेको जोखिमयुक्त रुख काट्ने काम भएको छ ।

वडा नं ५ तेलकोट देखि नाट्येश्वरी जाने सडकका विभिन्न स्थानमा आएको पहिरो पन्छाउने कार्य, दुई जनाको घर पहिरोले आंशिक क्षति, तत्काल नगर प्रहरीको टोली परिचालन गरी प्रतिकार्य गरेको र प्लाष्टिक र त्रिपाल वितरण गरिएको छ । पहिरोको जोखिममा रहेका १ परिवारलाई स्थानीय विद्यालयमा स्थानान्तरण गर्ने कार्य गरिएको छ ।

त्यस्तै, वडा नं ६ नगरकोट जाने सडकका विभिन्न स्थानमा गएको पहिरो पन्छाउने र अविरल वर्षात्का कारण २ जना स्थानीयको घरमा पसेको लेदो हटाउने कार्य भएको छ । साथै आयुर्वेद अस्पताल नजिक बाढीले कटान गरी जोखिममा रहेको घरलाई सुरक्षित गर्न बोरामा बालुवा तथा गिटि भरेर पर्खाल लगाउने कार्य तत्काल गरिएको छ ।

वडा नं ७ मुहानपोखरी जाने बाटोको पहिरो पन्छाउने कार्य गरिएको, अधिकारी गाँउमा गएको पहिरो र ढलेको रुख काटेर हटाउने काम भएको, बाढीका कारण पुल भत्किाएको पगरी टोलमा बाँस काटेर तत्काल अस्थायी पुल निर्माण गरी आवतजावत सुचारु गरीएको छ । मणिकर्णिका घाटमा नगर प्रहरीद्धारा अस्थायी पूल निर्माण गरिएको छ ।

वडा नं ८ जीतपुर नगरकोट जाने सडकमा आएको पहिरो पन्छाउने कार्य भएको, घट्टे खोलामा ढलेका रुखहरु काटेर हटाउने कार्य भएको, जीतपुरमा घट्टे खोलाले कटान गरेको स्थानमा तारजाली राखी रोकथामको उपाय अपनाएको छ ।

वडा नं ९ गोठाले चौरमा गएको पहिरोका कारण प्रभावितको गोठबाट बाख्रालाई पुरीएको स्थानबाटै जीवितै उद्धारका साथै रुख काटेर पहिरो पन्छाउने कार्य गरिएको छ । गणेश मन्दिर माथीपुजारी पाटीमापहिरो पन्छाउने कार्य गरिएको छ । जोखिमयुक्त रुखहरु सशस्त्र प्रहरी बलको सहयोगमा काट्ने काम भएको छ ।

हालसम्म विपद् प्रभावीतहरुलाई ६०६ थान प्लाष्टिक, १४३ थान त्रिपाल र ३ हजार ८०९ थान बोरा वितरण गरि सकिएको छ भने सशस्त्र प्रहरी बल गुहेश्वरी गणलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरीएको छ ।

विवरण संकलन जारी

विपद्मा भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी राखिएको छ । नगरपालिकाको वडा नं १,३,४,५,६,७, ८ र ९ वडाअन्तर्गत भएर बग्ने खोला तथा खहरेहरुमा आएको बाढीका कारण अन्न बाली तथा तरकारी बालीमा क्षति भएको विवरण कृषि शाखा मार्फत संकलन कार्य भइरहेको हो ।