चाँगुनारायण नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल दुवाकोटलाई खोज उद्धारका सामग्री हस्तान्तरण, क्षति कम गर्न मद्दत पुग्ने विश्वास

खरीपाटी: चाँगुनारायण नगरपालिकाले सशस्त्र प्रहरी बल २२ नंंम्बर गण दुवाकोटलाई विपद्जन्य विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । नगरपालिकाबाट उपलब्ध सामाग्रीहरु नगर प्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले संयुक्त रुपमा सशस्त्र प्रहरी बल २२ नम्बर गण दुवाकोट गणका एसपी बासुदेव लोहनीलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मेयर खत्रीले चाँगुनारायण नगरपालिका भूगोल र विपदको हिसावले जिल्लाकै बढी जोखिममा रहेको क्षेत्र भएको बताउनुभयो । नगरपालिकाले मनसुनजन्य विपद्मा उद्दार, खोज तथा राहतको काम गरिहेको र सहयोगले थप प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।

यो वर्ष मनसुन अझै लम्बिन सक्ने पूर्वानुमान भएकाले थप क्षति हुनबाट जोगाउन मद्दत पुग्ने पनि बताउनुभयो । मेयर खत्रीले विपद्बाट आफू पनि जोगिन र अरुलाई पनि जोगाऔं भन्ने भावनाले सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा विपद् शाखा प्रमुख दिनेश थापा, वडा नंं १ का वडाध्यक्ष सिजन कार्की र ४ का वडाध्यक्ष रोज बहादुर तामाङ लगायत सहभागि हुनुहुन्थ्यो ।

नगरपालिकाको विपद् ब्यवस्थापन टोलीले पछिल्लो समयमा आएको विपद्मा सक्दो प्रयास जारी राखेको छ । ब्यवस्थापन टोलीमाफर्त वडा नं ८, रातोपाटी पुल नजिक रुख ढलेर खोलामा अबरोध भएकोले रुख काटेर हटाएको छ । वडा नं ६ को सिता राउतको घर घट्टे खोलाले जोखिममा परोले समुदायका मानिसहरु मिलेर बोरामा बालुवा भरी जोखिम न्युनीकरण, वडा नं ८ सरस्वतीमन्दिर नजिक परियार टोल जाने बाटोको पहिरो पन्छाउने काम भएको छ ।

त्यस्तै वडा नं ६ का नगरकोट जाने बाटोको बिभिन्न स्थानमा गएको पहिरो हटाउने काम भएको, वडा न ६ बास्तोला गांउमा पहिरो गई घर भित्र लेदो पसेकोले सफा गर्ने काम गरेको, वडा नं ७ अधिकारी गाउँको पहिरो गएको ठाउमा रहेको जोखिमयुक्त रुख काट्ने कार्य गरिएको छ ।