
खरीपाटी: चाँगुनारायण नगरपालिकामा एक वर्षमा ४७ वटा मुद्दा फछ्यौट भएका छन् । कानुन तथा न्यायिक समितिका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरि आएका ३९ वटा र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका ४६ वटा गरि ८५ वटा निवेदन दर्ता भएका थिए ।
दर्ता भएकामध्ये ४७ वटा मुद्दा फछ्यौट भएको हो । त्यसमध्ये १० वटा अदालत पठाइएको, ११ वटा निर्णय भएको, १६ वटा मिलापत्र भएको र १० वटा डिसमिस भएको जनाइएको छ । समितिमा ३८ वटा मुद्दा कारवाहीयुक्त अवस्थामा रहेको र घरेलु हिंसा लगायत अन्य १० वटा सामान्य निवेदनहरु उपर छलफल गराई मेलमिलाप गराइएको छ ।
त्यस्तै, सबैभन्दा बढी जग्गा सम्बन्धी उजुरी परेका छन् । जग्गा सम्बन्धी एक वर्षमा ५१ वटा निवेदन दर्ता भएका हुन । बाटो निकास सम्बन्धी विवादका १८ वटा, ज्याल मजुरी नदिएको ३ वटा, नक्सा बदल सम्बन्धी २ वटा, इज्जत आमद अनुसार खान लाउन नदिएको ६ वटा, लेन देन विवादहरु सम्बन्धी ३ वटा र अन्य विषयमा २ वटा निवेदन दर्ता भएका छन् ।
वडागत रुपमा सबैभन्दा बढी वडा नंं ५ बाट २० वटा उजुरी परेका छन् । वडा नंं १ बाट ३ वटा, २ बाट १० वटा, ३ बाट ९ वटा, ४ बाट ४ वटा, ६ बाट १० वटा, ७ बाट १० वटा, ८ बाट १३ वटा र ९ बाट ६ वटा उजुरी परेका हुन ।
नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक रमेश बुढाथोकीले केहि वडाबाट धेरै उजुरीहरु सिधै न्यायिक समितिमा पठाएर पन्छिने गरिएको भन्दै वडाबाट समाधान निकाल्न सकिने उजुरीहरु न्यायिक समितिमा नपठाउन आग्रह गर्नु भएको छ ।