काठमाडौं: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेजलाई विश्वसनीय र प्राज्ञीक क्षेत्रमा भरपर्दो तथा सबैको आर्कषणको केन्द्र बनाउन लागिपरेको बताउनु भएको छ ।
शिक्षा पत्रकार समूहको कार्यालय अनामनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै कलेज ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको खत्रीले आफूले नेतृत्व समालेपछि ब्यवस्थापनलाई अब्बल र सबल बनाउनका लागिपरेको बताउनुभएको हो ।
समाजको स्वार्थको लागि जस्तोसुकै चुनौती सामाना गर्नु परे पनि गर्छु भनेर कलेज सञ्चालक समितिको जिम्मेवारी समालेको स्मरण गर्नुहुँदै मेयर खत्रीले हाल कलेजमा उत्कृष्ठ विधि बनाएर नियमीत काम कारवाही अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
कलेजलाई देशकै सबैभन्दा उत्कृष्ठ प्राज्ञीक शिक्षालय बनाउन लागिपरेको बताउनुहुँदै त्यसका लागि सबैले आ-आफ्नो ठाउँबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कलेज स्थापना गर्न स्थानीयको ठूलो योगदान रहेको बताउनुहुँदै मेयर खत्रीले कलेजलाई सामुदायिक बनाउन उद्दत रहेको बताउनुभयो । कलेजले विपन्न, गरिव र पिछडिएका क्षेत्रका योग्य र कोहि पनि शिक्षाबाट बञ्चित नहुने गरि आवश्यक नीति लिएको र भर्ना गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।
आर्थिक रुपमा विपन्न वा अरु कुनै पनि कारणले ईन्जिनियर पढ्नबाट बञ्चित हुने विद्यार्थीको जिम्मा कलेजले लिने उहाँले बताउनुभयो । नगरपालिकाले नगर सभाबाटै कलेज स्थापना गर्ने नीति लिएको जानकारी गराउनहुँदै चाँगुनारायणलाई शैक्षिक क्षेत्रको हवको रुपमा विकास गर्न लागिपरेको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीलाई आवश्यक स्रोत र साधन तथा राम्रो वातावरणमा अध्ययन अध्यापक गराउने गरेको बताउनुहुँदै कलेज विद्यार्थीको अग्रिम रोजाईमा पर्दै आएको बताउनुभयो । कलेज सञ्चालनमा कुनै पनि आर्थिक समस्या नरहेको र नगरपालिकाबाट ठूलो सहयोग मिलिरहेको बताउनुभयो ।
कलेजका बिभागीय प्रमुख यमकृष्ण पौडेलले पोखरा विश्व विद्यालयले प्रदान गर्ने छात्रबृत्तिभन्दा अतिरिक्त कलेजले वर्षमा झन्डै १५ करोडको हाराहारीमा छात्राबृत्ति प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो ।