
खरीपाटी: चाँगुनारायण नगरपालिकाले नगरभित्रको खानेपानी समस्या सम्बोधन गर्न काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग छलफल अगाडि बढाएको छ । नगरपालिका भित्रको खानेपानीको समस्या के कसरी सम्बोधन गर्न सकिन्छ र त्यसका लागि के-कस्ता योजनाहरु सञ्चालन गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हो ।

नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा भएको बैठकमा काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव कुमार राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक कुमार पौडेल, केयूकेयल भक्तपुर, मध्यपुर थिमी शाखा प्रमुख सहित खानेपानीसँग सम्बद्ध निकायका प्रमुखहरु सहभागि हुनुहुन्थ्यो ।

नगर प्रमुख खत्रीले आफू निर्वाचीत भएर आएलगत्तै नगरबासीको खानेपानी समस्यालाई सम्बोधन गर्न केयूकेएलमा सदस्यता बनेको स्मरण गर्दै खानेपानीको दिर्घकालीन समाधान गर्न सबै पक्षबीच सहकार्य र समन्वयको खाँचो रहेको बताउनुभयो ।

मेयर खत्रीले केयूकेएलले आफ्नो क्षेत्राधिकार भित्र पर्ने ठाउँका योजनालाई प्राथमिकता दिदैं अगाडि बढ्नुपर्ने र क्षेत्राधिकार नभएका ठाउँमा पनि सेवा विस्तार गर्न प्राविधिक र नीतिगत विषयलाई सम्बोधन गर्न आवश्यक गृहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर उपप्रमुख रमेश बुढाथोकीले नगरभित्रका ठूला आयोजना अगाडि बढाउन खानेपानी ब्यवस्थापन बोर्ड र केयूकेएलबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा नगरमा दिर्घकालीन रुपमा खानेपानीको समस्या सम्बोधन गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

केयूकेएलका कार्यकारी निर्देशक पौडेलले चाँगुनारायण नगरबासीको खानेपानीको समस्या समाधान गर्न इच्छुक रहेको बताउनुहुँदै आगामी दिनमा थप छलफल गरेर आवश्यक योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । सबै वडामा एकै पटक योजना राख्न सम्भव नभए पनि प्राथमिकताका आधारमा खानेपानी समस्या समाधान गर्दै लगिने बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राणाले नगरभित्रका पोखरी संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि क्रमीक रुपमा काम गर्दै जाने बताउनुभयो ।

बैठकमा वडाध्यक्षहरु क्रमश: वडा नंं १ का सिजन कार्की, २ का सोम प्रधान, ४ का रोज बहादुर तामाङ, ५ का जयन्द्र खडका, ६ का धन बहादुर लामा, ७ का श्यामकृष्ण नयाजु श्रेष्ठ, ८ का जनक खत्री र ९ का गणेश त्यातले वडागत रुपमा खानेपानीको अवस्था र समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँ र खानेपानी तथा सरसफाई शाखा प्रमुख सुरेन्द्र लामिछानेले चाँगुनारायण नगरमा १२८ वटा खानेपानी आयोजना तथा उपभोक्ता समिति रहेको जानकारी गराउनु भएको थियो ।

नगर भित्र ७८ वटा मूलको र ५० वटा डिप बोरिङबाट खानेपानी वितरण भइरहेको शाखा प्रमुख लामिछानेले बताउनुभयो ।त्यस्तै, नगरपालिकाले गौरवको परियोजनाका रुपमा दिसाजन्य लेदो प्रशोधन केन्द्र स्थापनााका लागि वडा नंं ७ र ८ को केन्द्रमा रहेको घट्टेखोला क्षेत्रमा सार्वजनीक जग्गा सिमांकन गरेर डिपीआर रिपोर्ट तयार भई त्यसको प्रक्रिया अगाडि बढाइरहेको छ । त्यसमा करिब ३ करोड करिडोर खोला विस्तार र ट्रिटमेन्ट प्लान्टका लागि ५ करोड गरि ८ करोडको लागत अनुमान गरिएको छ ।

बैठकले तत्काल खानेपानी बोर्ड र केयूकेयलको सहकार्यमा खानेपानी तथा सरसफाई आयोजना अगाडि बढाउने, बाँसबारीको खानेपानी प्रशोधन केन्द्र र बोर्डको केन्द्र सुधारका लागि क्षेत्र विस्तारको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, पोखरी संरक्षण तथा रिचार्ज पोखरी निर्माणका लागि बोर्डसँगको समन्वयमा आवश्यक कार्य अगाडि बढाउने, वडा नं.७ र आसपासमा सेवा विस्तारको लागि केयूकेएल भक्तपुरसँग समन्वय गर्ने र नगरपालिकाभित्र रहेका डिप बोरिङलाई सूचीकृत गरि यसको स्वीकृतीका लागि खानेपानी ब्यवस्थापन बोर्डमार्फत गराउने निर्णय पनि भएको छ ।
