स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न चाँगुनारायणका मेयर खत्रीको माग

काठमाडौं । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा नगरे अब जनताको आक्रोश रोक्न नसक्ने अवस्थामा आएको बताउनु भएको छ । लामो समयदेखि जनताको जग्गा रोक्का राख्दा जनताहरु अत्यन्तै प्रताडीत रहेको भन्दै यसको निकास नदिए जनताको आक्रोशलाई रोक्न सक्ने अवस्था नरहेको बताउनुभएको हो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई स्मार्ट सिटीको विषयमा ध्यानाकर्षण गराउनुहुँदै तीन वर्षको लागि भनेर रोक्का राखिएको जग्गा सात वर्षसम्म पनि कुनै निकाश नलिकाल्दा जनताहरु मारमा परिरहेको बताउनुभयो ।

जग्गा रोक्का राख्दा जनता अत्यन्तै आक्रोशित छ । स्थानीय जनप्रतिनिधिहरु नगरपालिका बस्न सक्ने अवस्था छैन । जनताहरुले आफ्नो जग्गा अंशबन्डा गर्न पाएका छैनन् । किनबेच गर्न पाएका छैनन । अब पनि निकाश नदिने हो भने जनताको आवेगलाई रोक्न सक्ने अवस्था छैन ।’

स्मार्ट सिटी बनाउन भन्दै पूर्वी उपत्यकाका पाँच नगरपालिकाभित्रको १ लाख रोपनी जग्गा आठ वर्षदेखि रोक्का छ । पाँच नगरपालिका मध्ये सबैभन्दा बढी क्षेत्रफल चाँगुनारायण नगरपालिकाको जग्गा रोक्का छ । चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२.७ वर्ग किमि जग्गा रोक्का छ ।

यसमा नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङ, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटो, साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुबारी, घट्टेखोला हुँदै तेलकोट, भक्तपुर जाने पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान) खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेकका क्षेत्र समेटिएको छ ।