‘स्मार्ट सिटी’को नाममा रोक्का जग्गाको समस्या चाँडै समाधान गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘स्मार्ट सिटी’ को नाममा रोक्का जग्गाको समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेको बताउनु भएको हो ।

मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई स्मार्ट सिटी, सडक बत्तिको महसुल, बागमती नदीको व्यवस्थापन लगायतको विषयमा ध्यानाकर्षण समेत गराएको थियो ।

मेयर्स फोरमले वर्षौंदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको छ । जवाफमा उपप्रधानमन्त्री सिंहले ‘स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने गुनासो चाँडै समाधान गर्न मन्त्रालयले काम अघि बढाएको स्पष्ट पार्नुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधान गर्ने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूलाई सडक बत्तीको महसुल तिर्न बिल पठाएको थियो । ‘सडक बत्तिको महसुलको विषयमा कुरा उठाउनुभयो, ऊर्जा मन्त्रालयसँग छलफल गरेर तपाईंहरूको भावनाअनुसार मन्त्रालयले भूमिका खेल्छ,’ सिंहले भन्नुभयो ।

मेयर्स फोरमका संयोजक चिरीबाबु मर्हजनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखरु सहभागि हुनुहुन्थ्यो । चाँगुनारायण नगरपालिकाको तर्फबाट मेयर जीवन खत्री, नगर प्रवक्ता जनक खत्री र वडा नंं १ का वडाध्यक्ष सिजन कार्की पनि सहभागि हुनुहुन्थ्यो ।