खरीपाटी: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले हैजा रोकथाम तथा नियन्त्रण अभियानमा जुट्न सबैमा आग्रह गर्नु भएको छ ।
नगर प्रमुख खत्रीले विगत केहि दिनदेखि काठमाडौं, ललितपुर जिल्लामा हैजा रोग देखिएको र भक्तपुर जिल्ला पनि रोगको उच्च जोखिममा रहेकोले केहि दिनदेखि झाडापखालाका बिरामीहरु बढिरहेको भन्दै सचेत रहन आग्रह गर्नु भएको हो ।
‘वर्तमान अवस्थामा हैजा रोगको रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिका अन्तर्गतका अस्पताल, स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु, विद्यालयहरु साथै विभिन्न संघसंस्थाहरुले आ आफनो क्षेत्रबाट उक्त रोगको प्रतिकार्यको लागि सूचना प्रवाह गर्ने, स्वास्थ्य, शिक्षा प्रदान गर्ने, विद्यालयहरुमा यस विषयमा जनचेतनामूलक कार्य गर्न गराउन सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्दछु’, नगर प्रमुख खत्रीले भन्नु भएको छ ।
अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ। तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ। तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जान चिकित्सकहरूको सुझाव छ।
यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।
हैजा नियन्त्रण तथा रोकथामका लागि चर्पीमा मात्रै दिसा पिसाब गर्ने, दिसा पिशाब गरेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु, खानुअघि र खाइसकेपछी साबुनपानीले मिचिमिची हात धुने, पानी उमालेर, फिल्टर गरेर वा १ लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने, बासी, सडेगलेको, झिङा भन्केको खानेकुरा नखान, काँचो खानेकुरा राम्ररी पखालेर खाने र पशुंपक्षी थुनेर वा बाँधेर राख्न आग्रह गरिएको छ ।