स्मार्ट सिटीको विषयमा सहरी विकास मन्त्रीसँग पूर्वी उपत्यकाका मेयरहरुको छलफल, चाँडै निकास निकाल्ने प्रतिबद्धता

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री प्रकाश मान सिंहसँग पूर्वी उपत्यकाका नगर प्रमुखहरुले भेटघाट गर्नु भएको छ । भेटमा तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेको स्मार्ट सिटी, पूर्वी उपत्यका नयाँ शहरी आयोजना र समग्र काठमाण्डौ उपत्यकाको व्यवस्थित शहरी विकास लगायत विविध विषयमा छलफल भएको हो ।

नेपाल नगरपालिका संघ बागमती प्रदेश अध्यक्ष तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीसहित चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र गोर्कणेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले नवनियुक्त मन्त्री सिंहलाई चाँडैं निकास निकाल्न आग्रह गर्नु भएको हो ।

छलफल कार्यक्रममा मन्त्री सिंहसहित मन्त्रालयका सचिव मणिराम गेलाल र सहसचिव पदम मैनाली पनि सहभागि हुनुुहन्थ्यो । पूर्वी उपत्यकाका मेयरहरुले यसअिघ पटक पटक दबाब दिदा पनि स्मार्ट सिटीको विषयमा निकास निस्कन सकेको छैन । वर्तमान कांग्रेस एमाले गठबन्धनको सरकारले भने यो विषयमा निकास निकाल्नेमा मेयरहरु आशावादी छन् ।

स्मार्ट सिटी अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा, शंखरापुर नगरपालिका ५, ६, ७ र ९ का क्षेत्र, भक्तपुर नगरपालिका २, ६ र १० वडा, मध्यपुर थिमी नगरपालिका २, ६, ७, ८ र ९ वडा, चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२।. वर्ग किमि जग्गा सात वर्षदेखि रोक्का छ । जग्गा रोक्का हुँदा स्थानीयहरु मर्कामा पर्दै आएका छन् ।

त्यस्तै, टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेटघाट गरि स्थानीय तहका विविध विषयमा ध्यानर्कषण गराएको छ ।