
खरीपाटी: चाँगुनारायण नगरपालिकाले विषादी प्रयोगलाई न्यूनीकरण गर्न जैविक मलको उत्पादन तथा आइपिएम विधि उपयोग गर्दै नगदे बाली र अर्गानिक खेतलाई प्रोत्साहन गर्ने भएको छ ।
नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न र कृषकलाई आत्मनिर्भर बनाउनसमयानुकूल मलखाद, बीउबिजन सरल र सुपथ मूल्यमा उपलब्ध गराउने प्रवन्ध मिलाइने बताउनुभयो ।
कृषि तथा पशुपन्छी पालनमा दिइने अनुदान थप व्यवस्थित र प्रभावकारी बनाइने, कृषि क्षेत्रको उत्पादकत्व बृद्धिका लागि आधुनीकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र प्लाष्टिक घरमार्फत् विशिष्टीकरणलाई व्यवहारमा उतार्ने, बाँझो एवम् उपयोगविहीन खेतीयोग्य जमिन उपयोगमा ल्याउन लिज पद्धतिलाई प्रोत्साहन गर्दै “एक वडा एक पकेट क्षेत्र”बिस्तारका लागि कृषक सञ्जालमार्फत् आयमूलक कार्यक्रम सञ्चालन पनि गर्ने भएको छ ।
नगर प्रमु खत्रीले कृषकहरुको क्षमता तथा सीप विकास र सशक्तिकरणका लागि सिपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गरी उत्पादित कृषि उपजको बिक्रीका लागि ग्रेडिङ्, प्याकेजिङ् गदै थोक बजारसँगको सहकार्यमा बजार व्यवस्थापन गर्ने नीति लिईनेछ।किसानसूचीकरण कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
त्यस्तै, रैथाने बाली र बीउबिजन स्वस्थ र गुणस्तरीय बीउ उत्पादन र संरक्षण गर्न समुदायलाई प्रोत्साहन गर्दै उन्नत बीउ बिजन तथा फलफूलका बिरुवा रोपण गर्ने कृषकहरुलाई अनुदानमा बिरुवा उपलब्ध गराउने नीति लिएको छ । साथै सामुदायिक वनमा आधारित एग्रो फोरेस्टी कार्यक्रम सञ्चालन गर्न सम्वद्ध निकायसँग समन्वय र सहकार्य गर्ने र आर्थिक रुपले सबल नगर विकासका लागि हाटबजार व्यवस्थापनको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।