राजस्वको दायरा फराकिलो बनाउँदै चाँगुनारायण, हालसम्म २३ करोड ७५ लाख राजस्व संकलन, १ सय ४८ वटा नयाँ ब्यवसाय दर्ता

खरीपाटी: चाँगुनारायण नगरपालिकामा २३ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म सो रकम बराबरको राजस्व संकलन भएको हो । नगरपालिकाका अनुसार चालु आर्थिक वर्ष १ सय ४८ वटा नयाँ व्यवसाय दर्ता भएको छ ।

नगरपालिकाको राजश्‍व काउण्टरमा नगद कारोवार बन्द गरी बैंक दाखिला भौचर मार्फत शुत्र प्रणालीबाट राजश्‍व संकलन गर्ने व्यवस्था मिलाएको र नगरपालिका क्षेत्रबाट बाहिर निकासी हुने काँचो ईँटा तथा पाँगो माटोको कार्यालयका कर्मचारीहरुबाट निकासी शुल्क उठाइने गरिएको छ ।

चालु आर्थिक वर्षको समिक्षा प्रतिवेदनमा उल्लेख भए अनुसार नगर प्रहरी परिचालन गरी अनधिकृत माटो कटिङ, माटो, बालुवा चोरी निकासीमा नियन्त्रण गर्ने गरिएको छ । साथै राजश्‍व बृद्धिका लागि करका दर तथा दायराहरुको विषयमा जनप्रतिनिधि र राजश्‍व सम्बन्धित कर्मचारीहरुका लागि बृहत छलफल तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।