चाँगुनारायणको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ करिब ११ करोड बजेट विनियोजन, एक वडा, एक सामुदायिक सिकाई केन्द्र र ई पुस्तकालय सञ्चालन गरिने

खरीपाटी: । चाँगुनारायण नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना तथा सामुदायिक विद्यालयहरुमा ई पुस्तकालय सञ्‍चालनका साथै अनुशासित एवं बफादार युवा जनशक्ति उत्पादनका लागि नगर स्काउट प्रवर्द्धनका कार्यक्रमहरु सञ्‍चालन गर्ने भएको छ ।

नगरभित्रका बालबालिकाहरुको शिक्षामा गुणस्तरीयता कायम गर्दै बालिका र किशोरीहरुको विविध आयाममा सकारात्मक परिवर्तनका साथ सुरक्षित भविष्यको सुनिश्चतताका लागि कार्यान्वयनमा ल्याएको बचत खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमका साथै प्राविधिक शिक्षालाई प्रबर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ १० करोड ९८ लाख बजेट समेत विनियोजन गरिएको छ ।

नगरपालिकाले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य तथा निःशूल्क शिक्षामा सबैको सहज एवंसमतामूलक कपहुँच र निरन्तरता सुनिश्‍चित गर्दै लग्ने, विद्यालय शिक्षालाई नैतिक मूल्य मान्यतामा आधारित व्यवहारिक शिक्षामा जोड दिने, विद्यालय अनुगमन कार्यलाई थप प्रभावकारी बनाउँदै ई हाजिरीलाई समेत अनिवार्य गरिने नीति लिएको छ ।

त्यस्तै, विद्यालयहरुको शैक्षिक गुरुयोजना निर्माण गर्ने, स्थानीय ज्ञान, सीप र विषयवस्तुका साथै नैतिक शिक्षालाई प्राथमिकतामा राखी स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री विकास गरिने भएको छ।

नगर प्रमुख जीवन खत्रीले शिक्षाको माध्यमबाट दक्ष जनशक्‍ति उत्पादनका निम्ति जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम रशैक्षिक क्यालेण्डर निर्माण एवं एकीकृत शैक्षिक कार्यक्रमलाई निरन्तरता दिईने, दिवा खाजा कार्यक्रमलाई क्रमिक रुपमा व्यवस्थित गर्दै लगिनेछ।विद्यालयका छात्राहरुका लागि गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।

‘छात्रवृत्ति वितरण प्रक्रियामा समतामूलक पहुँच अभिबृद्धि हुनेगरी बचत खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रमलाई परिमार्जन एवं परिष्कृत गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सिकाइमा उत्प्रेरित गरिनेछ’, प्रमुख खत्रीले भन्नुभयो, ‘स्वअध्ययनको विकास हरेक समस्याको निकास भन्‍नेमूल नाराका साथ नगरस्तरीय पुस्तकालय स्थापना गरिनेछ ।’

त्यस्तैगरि, उच्च शिक्षाका लागि विदेशीने प्रवृत्ति अन्त्य गर्न चाँगुनारायण बहुमूखी क्याम्पस स्थापनाको लागि विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेकोले सञ्‍चालनका लागि बहुवर्षीय योजना कार्यान्वयन समेत गर्ने भएको छ ।