खरीपाटी: भक्तपुरको खानेपानीको मुख्य स्रोत मुहारपोखरीको संरक्षण तथा ब्यवस्थापनमा स्थानीय सरोकारवाला निकायहरु जुटेका छन् । मुहान पोखरीमा जथाभावी फोहोर गरिदां प्रदूषण हुन थालेपछि सरोकारवाला निकायको टोलीले स्थलगत निरीक्षण गर्दै संरक्षणमा जुटेका हुन ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, प्रशासन शाखा प्रमुख सुरज पौडेल, चाँगुनारायण नगरपालिका वडा नम्बर ६, ७, ८ का वडाध्यक्षहरु धनबहादुर लामा, श्यामकाजी नयाजु श्रेष्ठ र जनक खत्री, भक्तपुर नगरपालिकाका वडा अध्यक्षहरू, केयुकेएलका भक्तपुरका प्रमुख , प्रहरी प्रशासन लगायतको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको हो ।
टोलीले जलाधार क्षेत्रभित्र फोहोर हुन नदिने र विशेष गरि मुहानपोखरीको संरक्षण तथा ब्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।
सो क्षेत्रमा काँडेतार नलगाउँदा पछिल्लो समय गर्मी छल्ल युवायुवती दैनीक ठूलो संख्यामा आउने गरेका छन् भने जथाभावी फोहोर गरिदां प्रदूषण हुँदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सो क्षेत्रमा अनावश्यक प्रवेश गरि फोहोर गर्नेलाई नियन्त्रणमा लिई कारवाही गरिने बताउनुभयो ।
चाँगुनारायण नगर प्रमुख खत्रीले नगरपालिकाले मुहानपोखरीको संरक्षण गर्ने कार्य गरिरहे पनि एक्लो प्रयासले मात्र संरक्षण गर्न कठिन भएको बताउनुहुँदै यसका लागि सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो ।