काठमाडौं: उपत्यका मेयर्स फोरमले वित्तीय समानीकरण अनुदान कटौती नगर्न माग गदैृ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानर्कषण गराएको छ । टोलीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गर्दै समानीकरण अनुदान नकाट्ने माग गरेको हो ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनको नेतृत्वमा गएको प्रमुख तथा उपप्रमुखहरूको टोलीले स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने, स्मार्ट सिटीको विषयलाई तत्काल निश्कर्षमा पुर्याउनुपर्ने, फोहोर व्यवस्थापनमा संघीय सरकारले समन्वय गर्नुपर्ने लगायत विषयमा ध्यानर्कषण गराएको हो ।
टोलीमा सहभागि चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले प्रधानमन्त्री प्रचण्डलाई स्थानीय तहका विभिन्न विषयमा ध्यानर्कषण गराएको बताउनुभयो ।
मेयर खत्रीले स्मार्ट सिटीको नाममा लामो समयदेखि जग्गा रोक्का हुँदा जनताहरु अत्यन्तै प्रताडीत बनेको भन्दै गम्भिर ध्यानर्कषण गराउनु भएको थियो । उहाँले स्मार्ट सिटी कि लागू गर्न, नभए रोक्का जग्गा फुकुवा गरेर खारेज गर्न जोडदार माग गरिएको जानकारी गराउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले वित्तीय समानीकरण अनुदान कटौती नहुने र स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै फोरमले राखेका विषयलाई गम्भिर रुपमा लिदैं सम्बोधन गरिने बताउनुभयो ।
टोलीमा उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन सहित सचिव घनश्याम गिरी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायत मेयर तथा उपमेयरहरु सहभागि हुनुहुन्थ्यो ।