चाँगुनारायणमा हरित प्रर्दशनी, वायू पदूषण रोकथाममा सबैको सहयोग आवश्यक रहेको मेयर खत्रीको भनाई

खरीपाटी: चाँगुनारायण नगरपालिकाले ५२ औं विश्व वातावरण दिवसको अवसरमा हरित प्रर्दशनी गरेको छ ।

‘हाम्रो धर्ती, हाम्रो भविष्य’ भन्ने नाराका साथ वातावरण संरक्षण, सुरक्षीत खानेपानी, सरसफाई र स्वच्छ हावा प्रबद्र्धन गर्ने उद्देश्यका साथ बुधबार एक दिने हरित प्रर्दशनी आयोजना गरिएको हो ।

प्रदर्शनीको नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिका देशभरमै वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण गर्ने पहिला पालिका बनेको स्मरण गर्नुहुँदै सोही अनुरुप कार्यान्वयनको चरणमा अगाडि बढिरहेको बताउनुभयो ।

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार भएको बताउनुहुँदै मेयर खत्रीले उपत्यकामा बढ्दै गएको वातावरण प्रदूषणबाट जनजीवनमा प्रत्यक्ष असर परिरहेको र यसको रोकथाममा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख रमेश बुढाथोकीले नगरलाई स्वच्छ, सफा, हराभरा बनाउन सक्रियताका साथ लागिपरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँ, वडा नंं २ का वडाध्यक्ष सोम प्रसाद प्रधान र खानेपानी तथा सरसफाई शाखा प्रमुख सुरेन्द्र लामिछानेलगायतले वातावरण पदूषण रोकथाममा सबै पक्ष उत्तीकै जिम्मेवारी भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रर्दशनीको मुख्य आर्कषणका रुपमा खानेपानी गुणस्तर परीक्षण, सार्वजनीक सवारी साधनको प्रदूषण चेक जाँच, खानेपानी शुद्धिकरण विधीको प्रदर्शनी र हरित ब्यवसाय तथा सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो ।