चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानमा ‘सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज खोप अभियान’ जारी

खरीपाटी: चाँगुनारायण नगरपालिकामा सञ्चालीत ४ दिने ‘सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप’ लगाउने कार्य जारी छ ।

जेठ १ गते पहिलो दिन वडा नंं १, २ र ३ लाई पायक पर्ने २ नंं वडा कार्यालय दुवाकोटमा आयोजना गरिएको शिवीरमा ८४ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

त्यस्तै, दोस्रो दिन वडा नंं ४ चाँगुमा शिवीर सञ्चालन गरिएको छ । वडा नंं ४ मा ६० वटा कुकुरहरुको बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखा प्रमुख खड्ग मैनालीले जानकारी गराउनुभयो ।

प्रमुख मैनालीका अनुसार बिहीबार वडा नंं ८ सुडालमा शिवीर चलाइएको छ भने भोलि शुक्रबार अन्तिम दिन नगरकोटमा सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

हाल काठमाण्डौं उपत्यकामा मात्रै ४० हजार भन्दा बढी सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । सामुदायिक कुकुरलाई निश्चित ठाउँमा संरक्षण गरेर राख्नुपर्ने आवाज उठ्ने गरे पनि बन्ध्याकरण र रेबिजको खोप नै दीर्घकालीन समाधान रहेको विज्ञहरु बताउँछन् ।