चाँगुनारायण नगरपालिका-१ मा ‘सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली’ बिषयक उत्प्रेरणात्मक कार्यक्रम, नगरका टोल-टोलमा यस्ता कार्यक्रम गर्नुपर्नेमा मेयर खत्रीको जोड

दुवाकोट: चाँगुनारायण नगरपालिका वडा नंं १ र ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र थिमीको संयुक्त आयोजनामा शनिबार सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली बिषयक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा नम्बर १ को सरस्वती मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रम चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख खत्रीले हरेक ब्यक्तीको लागि सकारात्मक सोच आवश्यक पर्ने बताउँदै सकारात्मक सोचले मात्र मानीसलाई सफल बनाउने बताउनुभयो । उहाँले नगरका सबै ठाउँमा यस्ता सकारात्मक उत्प्रेरण जगाउने कार्यक्रम आयोजना गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्कीले हालको स्थितिमा मानिसहरू मानसिक रुपमा बिक्षिप्त हुँदै गईरहेको अबस्थामा वडाबासीलाई पनि उत्प्रेरणा जगाएर सकात्मक सोचद्वारा रचनात्मक जीवनशैली बाँच्न सहयोग पुगोस भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमलाई अन्तर्राष्ट्रीय पुरस्कारबाट सम्मानित बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा वडा नंं २ का निवर्तमान वडाध्यक्ष तथा कांग्रेस चाँगुनारायण नगर सभापति शिवहरी केसी, वडा नंं १ का निवर्तमान वडाध्यक्ष राजेश खडका र सरस्वती मन्दिर संरक्षण समितिका अध्यक्ष कमल बहादुर थापालगायत वडाका विभिन्न ५० भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन मोहन देवीले गर्नु भएको थियो ।