चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीको बिदाई

खरीपाटी : चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको बिदाई गरिएको छ । नगरपालिकामा आइतबार एक कार्यक्रमको आयोजना गरि पन्थीको बिदाई गरिएको हो ।

एक वर्षअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समाल्नु भएको पन्थी बिहीबार मात्र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयमा सरुवा हुनु भएको थियो । पन्थीलाई नगर प्रमुख जीवन खत्रीसहित जनप्रतिनिधिहरु र कर्मचारीहरुले खादा लगाएर बिदाई गर्नु भयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले प्रमुख प्रशासकीय अधिकृत पन्थीले एक वर्षमा नगरपालिकामा सुशासन र प्रशासनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु भएको बताउँदै आगामी यात्राको लागि शुभकामना दिनुभयो ।

नगरपालिकामा पन्थीको ठाउँमा लामो समयदेखि प्रशासन क्षेत्रमा काम गरिसक्नु भएको अनुभवी शिव प्रसाद हुमागाई आउँदै हुनुहुन्छ । सोमबार बिदा परेकाले हुमागाईले मंगलबारदेखि कार्यभार समाल्नुहुनेछ ।