भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पार्टीलाई चलायमान बनाइराख्न पदीय जिम्मेवारीमा रहेर नेतृत्व लिनुहुने सबैले नागरिकसँग नजिक भएर काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नंं १ का क्षेत्रीय सभापति समेत रहनु भएको खत्रीले नेतृत्वले संगठनलाई क्रियाशिल बनाईराख्न बिधान अनुरूप संगठनलाई चलायमान गराई राख्नुपर्ने र त्यसका लागि बैठक ,भेला , छलफल , अन्नतरक्यिा , प्रशिक्षण जस्ता कार्यक्रम सबै तहले गर्दै नागरिक संग सदैव पुग्नुपर्नेमा जोड दिनु भएको हो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर १ को क्षेत्रीय कार्यालय र प्रदेश कार्यालयको कमलविनायकमा स्थानान्तर कार्यक्रममा सभापति खत्रीले आफूले नेता, कार्यकर्ताहरुको भावनाअनुसार गुनासो सधै सुन्ने गरेको र सोही अनुसार अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
‘मैले पार्टी र विशेष गरि आम जनतालाई केन्द्रमा राखेर गुनासोहरू सधै सुन्ने गरेको छु र चित्त नबुझेका कुरामा बहस गर्न तयार छु । पसल र चौबाटोमा बसेर पार्टी र नेताहरूलाई गाली नगरौ, हामीले पार्टी नेतृत्व पंङ्तिलाई जहिले पनि सम्मान गरेका छौ, कार्यक्रममा बोलाएका छौ, संगठन बिस्तारमा छलफल गरौ भनेका छौ । आज पनि नियमित कार्यक्रमहरू सूचारु गर्न र संगठनलाई ताजकी गर्न निमन्त्रणा गरिएको छ’, मेयर खत्रीले भन्नुभयो ।
उहाँले प्रतिक्रयावादीले लगाएका भएरनभएका आरोपलाई चिर्नुपर्नेमा जोड समेत दिनुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरु एक भएर लागेमा त्यस्ता प्रतिक्रियाबादीहरु आफै परास्त हुने मेयर खत्रीको भनाई छ ।
उहाँले थप्दै भन्नुभयो, ‘भोलीका दिनमा पनि नगर, प्रदेश र संघको निर्बाचनमा समेत जित्न सक्छौ, सामूहिक रूपमा अगाडि बढौ, तेरोरमेरो नभनी हाम्रो र हामी भनी अगाडि बढौ ।’ साथै उहाँले आरोप(प्रत्यारोपमा नलागी अगाडि बढ्न र भातृसंगठनका साथीहरूलाई सहयोग गर्न आफु तयार रहेको बताउदै पार्टी हाम्रो हो भनेर अगाडि बढ्न आग्रह गर्नुभयो ।