खरिपाटी: चाँगुनारायण नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले नगरभित्र सञ्चालीत सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई नयाँ शैक्षीक सत्र २०८१ सञ्चालन एवं ब्यवस्थापनका लागि १२ बुँदे परिपत्र जारी गरेको छ ।
परिपत्रमा नगरपालिकाद्धारा प्रकाशित शैक्षिक पात्रो २०८१ को आधारमा सबै विद्यालयहरुले विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकको सहभागितामा वार्षिक शैक्षिक योजना निर्माण गर्न र शैक्षिक सत्र २०८० को वार्षिक शैक्षिक प्रगति प्रतिवेदन बैशाख १० गतेभित्र शाखामा पेश गर्न भनीएको छ ।
त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २७ को उपदफा (३) मा उल्लेख भए बमोजीम प्रत्येक निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालीत विद्यालयले प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्मका ५ सय जना सम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १० प्रतिशत, ५०० देखि ८०० जना सम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १२ प्रतिशत र ८ सय भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले कम्तिमा १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने स्थान आरक्षण गर्नुपर्ने ब्यवस्था कार्यान्वयन गराउन पनि आग्रह गरिएको छ ।
त्यस्तै, सबै विद्यालयहरुले नगरपालिकाबाट अनुमित प्राप्त कक्षाहरुरमा मात्र विद्यार्थी भर्ना लिन पनि परिपत्र जारी गरिएको छ ।
यता चाँगुनारायण नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियानलाई ब्यापक बनाएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने संकल्पका साथ भर्ना अभियानलाई ब्यापक बनाएको हो ।
सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापन गर्दै आएको छ ।