रासायनीक मल वितरणलाई ब्यवस्थित बनाउँदै चाँगुनारायण नगरपालिका, विना झन्झट वितरण गर्ने मेयर खत्रीको भनाई

खरिपाटी: चाँगुनारायण नगरका कृषकलाई सहज रुपमा रासायनीक मल उपलब्ध गराउने विषयमा नगरपालिकाले छलफल गरेको छ ।

नगरपालिकाका मेयर जीवन खत्री, कृषि, पशुुपक्षी विकास र सहकारी शाखाका प्रमुखसहितको सहभागितामा अनुदानको मलको लागि स्वीकृति पाएका सहकारी संस्थाका प्रतिनिधि तथा कृषकहरुसँग छलफल गरिएको हो ।

नगरपालिकाले नगरभित्र रहेका ३७ वटा विभिन्न सहकारी संस्थामार्फत अनुदानको रासायनीक मल वितरण गर्दै आएको छ । रासायनीक मल वितरणमा गुनासो नआउने गरि कृषकको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कृषकहरुले आआफ्ना भनाई राखेका थिए ।

सो अवसरमा बोल्नुहुँदै मेयर खत्रीले रासायनीक मलको आवश्यकतालाई समाधान गर्ने उद्देश्यले प्रदेश सरकारसँग पहल गरेर यो वर्ष मलको कोटा बढाइएको जानकारी गराउनुभयो ।

अघिल्लो वर्ष प्रदेशबाट ४ सय बोरा मल आएकोमा यो पटक ८ सय बोरा रासायनीक मल ल्याइएको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा आवश्यक मलको लागि प्रदेश सरकारसँग थप कोटा बनाउन पहल गर्ने पनि उहाँले बताउनुभयो ।

नगरपालिकाले उपलब्ध मललाई छिटो छरितो, विना झन्झट वितरण गरिने बताउनुभयो । नगरपालिकाले किसान सूचीकृत कार्ड बनाउन लगेको बताउँदै अब के कति परिणाममा मल, विउ विजन आवश्यक पर्ने रहेछ भनेर यथार्थ तथ्यांक उपलब्ध भएपछि समयमै समाधान गर्न सकिने बताउनुभयो ।

किसान कार्ड बनाएर सोही आधारमा अनुदानको मल उपलब्ध हुने र दिर्घकालीन मलको वितरण प्रक्रियालाई ब्यवस्थित बनाइने बताउनुभयो ।

साथै उहाँले आवश्यकता र प्राथमिकतालाई आधार बनाएर मल वितरण हुने बताउँदै त्यसका लागि सबै जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

मेयर खत्रीले किसानहरुको समस्या सुन्न र तथ्यांक संकलन गर्ने उद्देश्यका साथ ९ वटै वडामा कृषि सहजकर्ता खटाइएको, वडा नंं ५ मा उत्पादन गरेका सामान सुरक्षीत राख्ने संकलन केन्द्र र कोल्ड स्टोर बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि गराउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्री, वडा नंं ४ का वडाध्यक्ष रोज बहादुर तामागं, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, कृषि शाखा प्रमुख श्रवण कुमार पासवान, पशु पन्छी बिकास शाखाका प्रमुख खडक कुमार मैनाली, सहकारी शाखा प्रमुख शर्मीला पोखरेलको पनि सहभागिता थियो ।