खरिपाटी: महादेव खोला जलासययुक्त खानेपानी आयोजना अगाडि बढाइने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ र वडा नं ७ सिमानामा रहेको महादेव खोला बृहत्त खानेपानी आयोजना अगाडि बढाउन खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य र चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीसहितको एक प्रतिनिधिमण्डलले स्थलगत निरीक्षण गरेको छ ।
नगरपालिकाका प्रमुख खत्रीको अगुवाईमा खानेपानी तथा ढल ब्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, प्रशासन प्रमुख अनुप लामिछाने, चाँगुनारायण नगरपालिका वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ र ८ का वडाध्यक्ष जनक खत्रीसहितको टोलीले महादेव खोला जलासययुक्त खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।
मेयर खत्रीले आयोजनाको लागि बजेट सुनीश्चीत गर्दै चाँडै शिलान्यास गर्ने गरि तयारी भइरहेको बताउनुभयो । उहाँले नगरबासी मात्र नभई आम भक्तपुरबासीलाई खानेपानीको पहुँचमा पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तब्यमै भक्तपुरको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्व तयारीको कार्य सम्पन्न गरि योजना अगाडि बढाउने घोषणा गरेको थियो ।
महादेव खोलाको बृहत्त खानेपानी आयोजना सञ्चालन गर्ने तयारी अनुरुप यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको जनाइएको छ । अध्ययन अनुसार आयोजनाका लागि रु तीन अर्ब अनुमानित लागत लाग्नेछ ।
नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि महादेव खोला बहुआयामीक परियोजनालाई संघीय, प्रदेश सरकारसँग सहकार्य गरि कार्यान्वयन गर्ने उल्लेख गरेको थियो । साथै मुहान पोखरी र विश्वम्भरालाई जलाधार क्षेत्र घोषणा गरी उद्यान निर्माणको लागि पहल गर्ने पनि नीति नगरपालिकाको छ ।