चाँगुनारायण नगरपालिकामा ‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन’ परियोजना शूरु

खरिपाटी: चाँगुनारायण नगरपालिकामा ‘‘शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना शूरु भएको छ । परियोजना नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीसहित नगर कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, सरोकारवाला र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितिमा शुभारम्भ गरिएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले परियोजनाबाट नगर क्षेत्रभित्रका खानेपानी संरचनाहरु, परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरुले पुनःजीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले परियोजनाको कार्यान्वयनमा प्रसाशनिक रुपमा आफू प्रतिबद्ध भएर सहयोग गर्ने बताउनुभयो ।

ब्रेमेन ओभरसीज रिसर्च एण्ड डेभलपमेन्ट एसोसिएशन दक्षिण एशियाको आर्थिक सहयोग र नगरपालिकासँगको समन्वयमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सुरुवात गरेको यो परियोजना सन् २०२६ सम्म सञ्चालन हुनेछ । परियोजना सञ्चालन र कार्यान्वयनको लागी नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाले आवश्यक समन्वय र सहजिकरणको लागि काम गर्नेछ ।

शाखाका संयोजक सुरेन्द्र लामिछानेले दिगो बिकास लक्ष्य ६ अन्तर्गत खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न परियोजनाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नगरपालिका क्षेत्र भित्र रहेको परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरु, सार्वजनिक शौचालयहरु लगायत संरचनाहरुको संरक्षण गर्न र पुनःनिर्माण गर्न डिपिआर, योजना, डिजाइन तथा परामर्श सेवा प्रदान गरी प्राविधिक सहयोग प्रदान गर्ने परियोजनाको लक्ष्य छ ।

परियोजनाले अन्य पालिकाहरुमा परिक्षण सफल भएको योजना र नयाँ प्रबिधिलाई चाँगुनारायण नगरपालिकामा पनि अनुशरण गर्ने जनाएको छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण, जलवायु र लैङ्गिक स्मार्ट शहर बनाउन मूल्याङ्कन ढाँचा विकास गरी लागु गर्ने, नगरपालिका क्षेत्र भित्र हाँसिल गरेका अनुभव र उपलब्धीमूलक दस्तावेजहरुलाई अन्य पालिका तथा शहरहरुको लागि सामग्रीको रुपमा सहयोग गर्ने लगायतको कार्यहरु परियोजना अन्र्तगत गरिनेछ ।