
खरिपाटी: चाँगुनारायण नगरपालिकाका सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नगरपालिका सक्रियताका साथ लागिपरेको बताउनु भएको छ ।
नेपाल शिक्षक संघ चाँगुनारायण नगरपालिकाको स्थानीय जनप्रतिनिधि सभा तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै खत्रीले नगरपालिकाले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आवश्यक कार्य गरिरहेको बताउनुभयो ।
नगरपालिकाले गर्नुपर्ने काम गरिरहेको बताउँदै प्रवक्ता खत्रीले नगरको शैक्षिक गुणस्तर माथि उकास्न नगरपालिकाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत नै ठूलो धनराशी खर्च गरिरहेको स्पष्ट पार्नुभयो ।
प्रवक्ता खत्रीका अनुसार सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुगमन कार्य समेत भइरहेको छ । सामुदायिक विद्यालयमा सुधारात्मक र उपचारात्मक दुबै किसिमको सुपरीवेक्षण र निरीक्षण गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।
उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षकहरुको महत्वपूर्ण हात हुने भएकाले नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुले अझ बढी मिहेनत गरेर नमूना र उदाहरणीय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।