
टोकियो: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ को निम्तो गर्नु भएको छ । जापान सरकारले उपलब्ध गराउने औपचारिक विकास सहायता परिचालन तथा समन्वय गर्ने सरकारी निकाय “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग” (जाइका) को निमन्त्रणमा भूकम्प लगायत प्रकृतिक विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन आउनुु भएको मेयर खत्रीले जापानबासी नेपालीमार्फत जापानबासीलाई नगरकोेट भ्रमण वर्ष २०८२ को निम्तो गर्नु भएको हो ।
जापान भ्रमणमा रहनु भएको मेयर खत्रीसहितको नेपाली टोलीलाई बिहीबार टोकियो स्थित भेटघाट नेपाली रेष्टुरेण्ट शिनओकुबोमा आयोजित सम्मान तथा स्वागत कार्यक्रममा बोल्नुहुँदै मेयर खत्रीले चाँगुनारायण नगरपालिका नगरबासीको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकासमा लागिपरेको बताउनुभयो ।
नगरकोटको पर्यटन प्रवद्र्धन तथा समृद्धिको लागि आफु निर्वाचित भइसकेपश्चातको पहिलो नगर सभाले ‘नगरकोट भ्रमण बर्ष २०८२’ मनाउने निर्णय गरेको जानकारी गराउँदै मेयर खत्रीले त्यसको पूर्व तयारी स्वस्प नगरकोटमा सडक महोत्सव समेत सम्पन्न गरिसकेको जानकारी गराउनुभयो ।
सो अवसरमा मेयर खत्रीले जापान भ्रमण अत्यन्तै उपलब्धीमूलक भएको बताउनुभयो । उहाँले जापानबाट सिकेको ज्ञान, सिपलाई उपयोग गरि नेपालमा हस्तान्तरण गर्न सकेमा नेपालको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो । सबै नेपालीहरु एकजुट भएर आफ्नो कर्तब्य पालना गर्ने र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने हो भने आर्थिक समृद्धिको ढोका चाँडै खुल्ने मेयर खत्रीको भनाई छ ।
सम्मान कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयरसहित बुढानीलकण्ठ नगरपालिकाका मेयर बुढानिलकण्ठ नगरपालिका मेयर मित्रमणी अधिकारी, शङ्खरापुर नगरपालिकाका मेयर रमेश नापित, टोखा नगरपालिका मेयर प्रकाश अधिकारीलगायत सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा सञ्चारकर्मीसहित गैर आवासीय नेपाली संघका उपाध्यक्ष रोविन शेरचनलगायतको पनि सहभागिता थियो ।