
भक्तपुर: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरबासीको समृद्धिको सपना पूरा गर्न प्रतिबद्ध भएको बताउनु भएको छ । मेयर खत्रीले नगरबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई अझै सरल, सहज र सुलभ रुपमा सबै नगरवासीको पहुंच स्थापित गर्न सधै प्रतिवद्ध भएको बताउनुभएको हो ।
गुणस्तरीय कार्यसम्पादन सहित नगरवासीको सन्तुष्टि र आवश्यकताको उच्च कदर गर्दै अगाडि बढिरहेको मेयर खत्रीको भनाई छ ।
भौतिक पूर्वाधार विकास तर्फ मूलपानी चाँगु, छालिङ नाटेश्वरी हुदै नगरकोट निक्लने बाटो, सैनिक व्यारेक देखि छालिङ जोड्ने सडक कालोपत्रे, दुवाकोट मूल सडक कालोपत्र कार्य प्रारम्भ भई सकेको र उक्त सडकको बाँकी खण्ड चाँडै कालोपत्रे संचालनमा आउने जानकारी गराउनुभयो ।
भौतिक पूर्वाधारका अन्य कार्यहरु पनि भइरहेको बताउँदै उहाँले चाँगुनारायण फाष्ट ट्रयाकको निर्माण कार्य अघि बढेको र खस्याङ खुसुङ–घट्टेखोला करिडोर निर्माणको कार्य प्रारम्भ हुने चरणमा रहेको बताउनुभयो ।
नगरसभाको १४ औं अधिवेशनमा मन्तब्य राख्ने क्रममा मेयर खत्रीले भन्नुभयो, ‘निर्वाचन पछि भएका बिभिन्न नगरसभा तथा कार्यपालिकाबाट तय भएका लक्ष्यहरुले पूर्णता पाउदै गएका छन् । यति हुँदा हुदै पनि नगरकोट सडक, वीर अस्पतालको लागि निर्माण गरिएका दुवाकोट सडक जस्ता ठूला योजनाहरु हामीले चाहदा चाहदै पनि हाम्रो एकल प्रयासबाट मात्र सम्भव हुने अवस्था छैन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक एवं पुरातात्वतिक महत्वको चाँगुनारायण मन्दिरको बृहत्तर गुरु योजना निर्माण गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य वनाउने तर्फ हामी अग्रसर रहेका छौ ।’